नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

दशौं राष्ट्रपति रनिङ शिल्ड : प्रमुख अतिथिलाई सलामी दिदा अरुलाई कुर्सी नै प्यारो

विएन श्रेष्ठ, बैशाख ७ ओखलढुङ्गा ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आजवाट ओखलढुङ्गामा दशौं राष्ट्रपति रनिङ शिल्ड अन्तर मावि खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङ्गको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा पाँच खेलका २ सय ६४ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

विजयीहरुलाई ओखलढुङ्गाका प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले नगद पुरस्कार प्रदान गर्ने घोषणा गर्नु भएको छ । पुरस्कार रकमको अभावका कारण प्रतियोगिता सञ्चालन गर्न समस्या भएको आयोजकले बताईरहेको बेला सांसद सुनुवारले यस्तो घोषणा गर्नुभएको हो । प्रथम, द्वितिय र तृतिय स्थान प्राप्त गर्ने विजयीहरुलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार आफुले प्रदान गर्ने सांसद सुनुवारले घोषणा गर्नुभएको हो ।

प्रमुख अतिथी सांसद सुनुवारले भन्नुभयो, ‘विगतका वर्षहरुमा पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताहरु सञ्चालन भए । तर यस पटक अलिक बढि नै रकमको अभाव भयो भन्ने सुनिन आयो । सायद त्यसैले होला, २०७४ को चैत मशान्तमा भै सक्नु पर्ने प्रतियोगिता २०७५ को बैशाख लागेपछि भयो । यस प्रतियोगिताका विजयीलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार म ब्यक्तिगत रुपमा नै प्रदान गर्छु ।’ अर्को वर्ष हुने प्रतियोगिताका लागि आवश्यक पर्ने बजेट आफ्नो सांसद विकास कोष वा क्षेत्र विकास कोषवाट उपलब्ध गराउने पनि सांसद सुनुवारले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विगतका वर्षहरुमा झै यस वर्षको खेलकुद प्रतियोगिताका विजयीहरुले पनि शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले बजेट अभाबका कारण जिल्लाका सबै माद्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाउन नसकेको बताए । राष्ट्रपति जस्तो गरिमामय पदको नामबाट सञ्चालन भएको कार्यक्रम तथा खेलकुदलाई आयोजकले व्यबस्थित ढंगले सञ्चालन गर्न नसकेको भन्दै बक्ताहरुले असन्तुष्टि जनाएका हुन् ।

उद्घाटन सत्रलाई शुभकामना ब्यक्त गर्दै जिल्ला समन्वय समिती ओखलढुङ्गाका प्रमुख जय बहादुर श्रेष्ठले बजेट अभावका कारण विद्यालयहरुले प्रतियोगितामा सहभागी नभएको भन्ने कुरा गफ मात्रै भएको बताउनुभयो । प्रमुख श्रेष्ठले भन्नु भयो, ‘बजेट अभावका कारण विद्यार्थी सहभागी गराउन नसकेको भन्नु लज्जा जनक छ । पैसा नहुदा विद्यार्थीलाई सहभागी गराउन त समस्या भयो होला नै । तर विद्यालयले विद्यार्थीहरुलाई खेलकुदमा अभ्यास गराएका हुदैनन् । अनि प्रतियोगितामा सहभागीता जनाउदा लज्जा हुने भएपछि पैसा अभावका कारण बताउछन् ।’ खेलकुदले शारिरीक रुपमा पनि तन्दुरुष्त राख्ने र जितले राष्ट्रको ईज्जत पनि माथि उठाउने भएकोले प्रतियोगितामा सबै विद्यालहरुले सहभागिता जनाउनु पर्ने श्रेष्ठको भनाई छ ।

निकै अस्तव्यस्त व्यबस्थापनका बाबजुद प्रतियोगिता सुरु भएको छ । ब्यबस्थापन अस्तव्यस्त भएपनि कार्यक्रमको उद्घाटन सत्रका क्रममा कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारलाई लालिगुराँस ईग्लिस बोर्डिङ स्कूलका विद्यार्थीको नेपाल सुरक्षा दलका टिमले विशेष सलामी अर्पण गरेको थियो । सगसगै सहभागी खेलाडीहरुले मार्चपास समेत गरेका थिए । प्रमुख अतिथिलाई खेलाडीहरुले मार्चपास गर्दै सलामी दिई रहदा अरु अतिथि मुकदर्शक त बने नै, सुरक्षा निकायका प्रमुखले समेत अतिथिको कुर्सी छाड्न चाहेनन् ।

जिल्लामा ७५ सामुदायीक र ३ ओटा निजी गरेर ७८ ओटा माद्यमिक विद्यालय सञ्चालनमा छन् । प्रतियोगितामा जिल्ला भरका ९ सामुदायीक तथा २ निजी विद्यालय गरि ११ विद्यालयले सहभागिता जनाएका छन् । प्रत्येक वर्ष हुने राष्ट्रपति रनिङ शिल्ड अन्तर मावि स्तरिय प्रतियोगिता २०७४ मा बजेटका कारण हुने कि नहुने भनेर दुबिधा हुदा ब्यवस्थापकिय पक्षमा केही समस्या सृजना भएको आयोजकले जनाएको छ ।