नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

ओखलढुङ्गामा चोरी गरेका आरोपमा खोटाङका एक युवक पक्राउ

विवेश श्रेष्ठ, बैशाख ६ ओखलढुङ्गा ।
ओखलढुङ्गाको एक तरकारी तथा फलफुल पसलमा चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ जिल्लाको जाल्पाका २२ वर्षिय अनिल भनिने अजय श्रेष्ठ रहेका छन् ।

श्रेष्ठ शृखंलाबद्ध रुपमा ओखलढुङ्गा, सोलुखुम्बु तथा खोटाङमा पनि चोरीको कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ । ओखलढुङ्गा र सोलुको विभिन्न स्थानहरुमा शृखंलाबद्ध चोरीका घटना भएपछि प्रहरी टोलीले घटनामा संलग्नहरुको अनुसन्धानका क्रममा निरन्तर खोजी गरिरहेको थियो । अनुसन्धान गर्दैजादा श्रेष्ठलाई कास्की प्रहरीको सहयोगमा पोखरावाट पक्रन सफल भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक टिका कार्कीले बताउनुभयो ।

‘यस अगाडी पनि खोटाङका विभिन्न पसलहरुमा चोरी गरेको अभियोगमा श्रेष्ठ जेल जिवन भोगी सकेका ब्यक्ति रहेछन् । जेलवाट निश्किएको केही समय मात्रै भएको रहेछ । जेलवाट निश्किएपछि फेरी ओखलढुङ्गा, सोलुखुम्बुमा चोरी कार्यमा सहभागी श्रेष्ठ प्रहरीले खोजी गरेको थाहा पाएपछि पोखरा तर्फ फरार भएको पाईयो ।’ प्रहरी निरिक्षक कार्कीले भन्नुभयो, ‘प्रहरीको निरन्तर खोज अनुसन्धान मार्फत चोरलाई पक्रन हाम्रो प्रहरी टोली सफल भयो ।’

२०७४ चैत ५ गते शोमवार राती ओखलढुङ्गाको सदरमुकाममा रहेको एक पसलवाट नगद तथा सुनका गरगहना सहित करिब ३ लाख ५० हजारको चोरी भएको थियो । फलफुल, तरकारी तथा किराना पसल सञ्चालन गर्दै आएका व्यापारी कपिल कटवालको पसलवाट नगद तथा गरगहना चोरी भएको थियो । कटवालको पसलमा लगाएको ढोकाको ताला फुटाएर होलसेल सामाग्री खरिद गर्न तयारी राखिएका नगद चोरी भएको हो ।

पक्राउ परेका श्रेष्ठ उक्त चोरीको घटनामा पनि संलग्न रहेको प्रहरीको आरोप छ । चोरी भएको करिब एक महिना वितिसक्दा पनि चोर पत्ता लगाउन प्रहरीले नसकेको आरोप आईरहेको बेला श्रेष्ठलाई पक्राउ गरेर ओखलढुङ्गा ल्याईएको हो ।

ओखलढुङ्गामा चोरी भएको केही दिनमा नै सोलुखुम्बुको चारवटा पसलमा पनि नगद सहितका सामान चोरी भएको थियो । ओखलढुङ्गा र सोलुखुम्बुमा चोरी गरेर पक्राउ परेका श्रेष्ठ पोखरा तर्फ फरार भएको प्रहरीको दाबी छ ।

थप अनुसन्धान र कार्बाहीको लागि पक्राउ परेका श्रेष्ठलाई सोलुखुम्बु पठाएको पनि प्रहरी निरिक्षक कार्कीले बताउनुभयो । सोलुखुम्बुमा अनुसन्धान तथा कार्बाही पछि ओखलढुङ्गा ल्याएर आवश्यक कार्बाहीको प्रकृया अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।