नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

साबधान ! चिनीमा युरिया मलकाे मिसावट ?

ओखलढुङ्गान्युज, बैशाख ३ खोटाङ । खोटाङको दिक्तेलमा चिनीमा यूरियामल मिसाएर बिक्री गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डे रहेका छन् । दिक्तेलमा रहेको पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एण्ड सप्लायर्स पसलबाट बिक्री गरिएको चिनीमा युरिया मल मिसिएको भेटिएपछि प्रशासनले कारबाही सुरु गरेको छ । ग्राहकले खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको भेटिएपछि पाण्डेलाई जिल्ला प्रशासन कार्यालय खोटाङमा झिकाएर कारबाही थालेको हो ।

स्थानीय उपभोक्ताहरुले पाण्डेको पसलवाट खरिद गरेको चिनीको प्याकेटमा चिनी सगै युरिया मलको दाना मिसाएर बेचेको गुनासो जिल्ला प्रशासनमा गरेका थिए । गुनासोपछि प्रशासनले चिनीमा मिसावट भए(नभएको अनुसन्धान गर्न गत शुक्रबार पाण्डे भेराइटिजको गोदाम र पसल सिलबन्दी गरेको थियो । पाण्डेको पसल तथा गोदाम सिलबन्दीपछि प्रशासनले आइतबार पाण्डेलाई जिल्ला प्रशासनमा झिकाएर बयान लिइएको छ ।

तराईबाट मिसावट भएको चिनी ल्याइएको वा दिक्तेलमै मिसावट गरिएको भन्ने अनुसन्धानपछि मात्र पुष्टी हुने निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले जानकारी दिनुभयो । ग्राहकले गुनासो गरेपछि गोदाम तथा पसल सिलबन्दी गर्नुकासाथै सञ्चालक पाण्डेलाई नियन्त्रणमा लिएर तारिखमा छाडेको थियो ।

मिसावट भेटिएको भनिएको चिनीको बोरा दुई हप्ताअघि मात्र उदयपुरको कटारीबाट ल्याइएको सञ्चालक पाण्डेले बताएका छन् । दिक्तेलस्थित सल्लेरी टोलमा सञ्चालित पाण्डे भेराइटिजको गोदाम र पसलबाट यसअघि पनि उपभोक्ता ठगिएको गुनासो आउने गरेको थियो ।