नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गाका सा‌सद यज्ञराजले भने, ‘ढिला सुस्तीको ‘ढ’ र भ्रष्टाचारको ‘भ’ सुन्न नपरोस्’

फायल तस्वीर

ओखलढुङ्गान्युज, चैत २९ । ओखलढुङ्गाका निर्वाचित जनप्रतिनिधि र सरकारी कर्मचारीहरुले भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको संयोजकत्वमा मंगलबार भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा ओखलढुङ्गालाई भ्रष्टाचारमुक्त जिल्ला बनाउने प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारले घोषणा समेत गर्नुभयो । जनप्रतिनिधि र कर्मचारी दुवै पक्ष इमान्दार भएर काम गरे अनियमितता हुन नपाउने भन्दै सुनुवारले अब जिल्लालाई भष्टाचारमुक्त बनाउने अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभयो ।

‘सरकारी कर्मचारीले भ्रष्टाचार गरे राजनैतिक संरक्षण होईन, सिधै कारबाही गरिन्छ ।’ सांसद सुनुवारले भने ‘जनताले चुनेर पठाएका जनप्रतिनिधिबाट भ्रष्टाचार हुनु हुँदैन, यदि जनप्रतिनिधि नै अनियमिततामा संलग्न भएको पाए तपाईहरुले खबरदारी गर्नुस् ।’ संविधान अनुसार तीनै तहको सरकार गठन भईसकेकाले जनताले घरदैलोमा सरकार आएको महसुस गर्न पाउनुपर्ने सांसद सुनुवारको भनाई थियो ।

‘नयाँ वर्षको सबैलाई शुभकामना छ, नयाँ वर्षसँगै अब जिल्लामा ढिला सुस्तीको ढ र भ्रष्टाचारको भ सुन्न नपरोस् ।’ सांसद सुनुवारले जनताले सेवाका नाममा थप दुःख पाउनु नहुने भन्दै जनप्रतिनिधि र कर्मचारी जनताको सेवक भएर काम गर्नुपर्ने बताउनु भयो । मन्त्री र सांसदले दवाद दिएपछि काम गर्ने तर जनताको आग्रहमा काम नगर्ने कर्मचारीको प्रवृती सुधार्न सुनुवारले आग्रह गर्नुभयो । सांसद सुनुवारले ओखलढुंगालाई खुल्ला दिसामुक्त, पूर्ण खोपयुक्त र साक्षर जिल्ला समेत घोषणा गरिसकेकाले अब भ्रष्टाचारमुक्त जिल्ला घोषणा गर्ने उद्घोष गर्नुभयो ।

जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख जयबहादुर श्रेष्ठले नागरिकले पाउने सेवालाई सुलभ बनाउन सबैले भूमिका खेल्नुपर्ने भन्दै सबै तहका जनप्रतिनिधि र कर्मचारीको एउटै लक्ष्य मुलुकको समृद्धि तर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।

मंगलबार भएको जिल्ला स्तरीय अन्तरक्रियामा जनप्रतिनिधि र कर्मचारी बिच विभिन्न ४ बुँदे निर्णय भएको छ । सेवा प्रवाहलाई प्रभावकारी बनाउने देखि जिल्लालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा जुट्ने सम्मको निर्णयमा प्रतिबद्धता भएको हो ।

अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुखहरुले आ–आफ्नो कार्यालय मार्फत भएका काम र उपलब्धिबारे जनप्रतिनिधिलाई जानकारी गराएका थिए । जनप्रतिनिधिहरुले पनि कर्मचारीहरुलाई इमान्दार भएर सेवाप्रवाहमा लाग्न आग्रह गरेका छन् । कार्यक्रममा जिल्लाका सांसद सहितका जनप्रतिनिधि र विषयगत कार्यालयका प्रमुख सहितका कर्मचारी र सञ्चारकर्मी सहितको सहभागिता थियो ।