नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा गाउँपालिकाका अध्यक्ष माथि आधा रातमा आक्रमण

विवेश श्रेष्ठ, चैत २८ ओखलढुङ्गा । ओखलढुङ्गामा निर्वाचित जनप्रतिनिधी गाउँपालिकाका अध्यक्षमाथि आधारातमा आक्रमण भएको छ । जिल्लाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेल माथि आक्रमण भएको हो । मंगलवार राती करिब १० बजेतिर अज्ञात समुहले अध्यक्ष पौडेललाई आक्रमण गरेको हो ।

आफ्नै क्वाटरमा सुतिरहेको अवस्थामा नचिनेका व्यक्तिको समुहले कोठाबाट बाहिर बोलाएर आफुमाथी कुटपिट गरेको अध्यक्ष पौडेलले बताउनुभयो । ‘म निवासमै सुतिरहेको थिएँ । बाहिर निस्कनुस् अंकल जरुरी काम छ भने । म कोही जनता दुःख पाएर आए भन्ने ठानेर बाहिर निस्कीए । ढोकाबाट बाहिर निस्कनासाथ म माथि आक्रमण भयो,’ पौडेलले भन्नुभयो ।

पौडेलका अनुसार उनलाई गाउँपालिकको वडा नम्बर ९ पोकलीबाट आएको बताउने ४ जनाको समुहले कोठा बाहिर बोलाएर मुङ्ग्रोले हानेका हुन् । अध्यक्ष पौडेलले भन्नुभयो, ‘म अहिले घाईते छु । अहिले अवस्था चिन्ताजनक छैन । बुधबार अनुसन्धान प्रकृया अघि बढाएर विहिबार मात्रै थप उपचारका लागि काठमाण्डौ जान्छु ।’

अज्ञात समुहको आक्रमणबाट घाईते गाउँपालिका अध्यक्ष पौडेलको बायाँ घुँडामा ४ टाँका लगाईएको छ भने तिघ्रा र नलि खुट्टामा गहिरो चोट लागेको छ । हातको कान्छि औंलाको नङ सहितको भाग फुटेको छ । राती नै स्थानीय स्वास्थ्य संस्थामा उपचार गराईएको छ । थप उपचारका लागि काठमाण्डौं लैजाने तयारी भईरहेको लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले जानकारी दिनुभयो ।

आधारातमा आफ्नै क्वाटरमा सुतिरहेको गाउँपालिकाका अध्यक्ष जस्तो जनप्रतिनिधीलाई समेत आक्रमण भएको भन्दै स्थानीयहरु त्रसित भएको स्थानीय यज्ञ बहादुर थापा मगरले वताउनभयो । निर्वाचित जनप्रतिनिधीलाई समेत सुरक्षा प्रदान गर्न नसकेको र घटनाबारे जानकारी गराउदा पनि घटना स्थलमा प्रहरी ढिलो पुगेको भन्दै स्थानीय आक्रोसित बनेका छन् ।

प्रहरीले घटना स्थलमा पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अनुसन्धान पश्चात चाडै अपराधी पत्ता लगाएर कारबाहीको दाहेरामा ल्याउने प्रतिबद्धता पनि प्रहरीले गरेको छ ।