नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

मापसे गरेर विद्यालय आउने शिक्षकमाथि कारबाही गर्न सिफारिस

फायल तस्विर

ओखलढुङ्गान्युज, चैत २३, ओखलढुंगा । ओखलढुङ्गाको एक विद्यालयले दिनहु मादक पदार्थ सेवन गरेर आएको भन्दै आफ्नै विद्यालयका शिक्षकलाई कार्वाहीको लागि सिफारिस गरेका छ । मोलुंग गाउँपालिका वडा नं। १ मा रहेको जलकन्या आधारभूत विद्यालयले शिक्षक भीम कार्कीमाथि कारबाही गर्न जिल्ला शिक्षा कार्यालयलाई सिफारिस गरेको हो ।

विद्यालयमा दैनिक मादकपदार्थ सेवन गरेर आएको र विद्यालयको शैक्षिक वातावरणलाई विगारेको आरोपमा विद्यालय व्यवस्थापन समितिले कारबाहीको लागि सिफारिस गरेको हो । विद्यालयले गरेको सिफारिसमा ‘कार्बाही वा अन्यत्र सरुवा गर्न’ भनिएको छ ।

विद्यालय ब्यवस्थापन समितिको चैत ११ गते बसेको बैठकबाट निर्णय गरेर १५ दिनभित्र समस्या समाधान नगरे व्यवस्थापन समितिले हटाउने चेतावनी सहितको पत्र जिल्ला शिक्षा कार्यालयमा बुधबार नै दर्ता गराइएको छ । वर्षौंदेखि विद्यालयमा मादक पदार्थ सेवन गरेर आउने, जुनसुकै समयमा विद्यार्थीलाई विदा दिने र पठन पाठन नगराउने गरेपछि बाध्य भएर कारबाहीका लागि सिफारिस गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

यसअघि पनि कार्कीलाई कारवाही वा सरुवा गर्न अविभावकहरुले माग गरेपनि राजनीतिक दलको संरक्षणमा जिल्ला शिक्षा कार्यालयले कारबाही नगरी संरक्षण गर्दै आएको थियो । विद्यालय व्यबस्थापन समितिको उजुरीबारे जिल्ला शिक्षा कार्यालय ओखलढुङ्गाले अहिले पनि केही गर्न नसक्ने बताएपछि अभिभावकहरु आक्रोशित भएका छन् ।

कक्षा ५ सम्म संचालनमा रहेको विद्यालयमा शिक्षकले राम्रो पठनपाठन नगरेपछि अहिले कक्षा ३ सम्म मात्र कक्षा सञ्चालनमा छ । विद्यालयमा २२ जना विद्यार्थी भर्ना भएपनि अहिले १० देखी १२ जनामात्र आउने गरेका छन् । अभिभावकहरुले बालबालिकाहरु विद्यालय पठाउन समेत छोडेका छन् ।