नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सबैको ईच्छाशक्ति भयो भने महिलालाई रोजगार सम्भव छ ः नगर–उपप्रमुख गुरुङ

ओखलढुङ्गान्यूज, चैत २०, ओखलढुङ्गा ।
सिद्धिचरण नगरपालिका ओखलढुङ्गाका उप–प्रमुख ईच्छा कुमारी गुरुङले सबैको ईच्छाशक्ति भयो भने महिलाहरुलाई रोजगारीको अबसर दिन सकिने बताउनु भएको छ । शोमवार ओखलढुङ्गामा भएको घरेलु सहायक तथा क्लिनर तालिमको समापन गर्दै उप–प्रमुख गुरुङले यस्तो बताउनुभएको हो ।

उप–प्रमुख गुरुङ्गले एकल तथा पछाडी परेका महिलाहरुलाई लक्षित गरेर तालिम संचालन गरेको हुदाँ पनि सक्रिय रुपमा महिलाहरुको सहभागीता रहेको बताउनु भएको छ । तालिम लिएका महिलाहरुलाई सबै मिलेर रोजगारको व्यबस्था गरिदिनु पर्ने बताउदै उप–प्रमुख गुरुङले यस्ता तालिम संचालन गर्दा महिलाहरुको क्षमता अभिबृद्धिमा सहयोग पु¥याउने भएकोले आगामी दिनमा पनि संचालन गर्ने बताउनु भयो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई तालिममा सिकेको सिपलाई व्यबहारमा प्रयोग गर्न आग्रह गर्नु भएको छ । प्रशिक्षार्थिमा काम गर्ने उर्जा देखिएको भन्दै प्रमुख जिल्ला अधिकारी पन्तले भन्नुभयो, ‘घरभन्दा बाहिर समाजमा पनि निस्केर काम गर्नुस् । काम सानो ठूलो भन्ने हुदैन । जागिर नै ठूलो कुरा हैन ।’

सम्बोधनका क्रममा प्रजिअ पन्तले भन्नुभयो, ‘तालिमको उद्देश्य भनेको उत्प्रेरणा जगाउने मात्रै हो । आयआर्जन नगरी सबल बन्न सकिदैन । थोरै मात्र कमाउन सकियो भनेपनि परिवार चलाउन सहज हुन्छ । तालिमका कुरा व्यबहारमा लागू गर्नुस् । टोलटोलका महिलाहरु मिलेर बनाएको घरेलु उद्यमवाट पनि पैसा कमाउन सकिन्छ ।’

मुलुकमा अव्यवस्थित रुपमा चलिरहेका मानवस्रोतलाई उचित व्यवस्थापनको माध्यमबाट न्यूनिकरण गर्नुपर्ने अवसर नेपालका प्रबन्धक अनिसा सुबेदीले बताउनुभयो । बेरोजगार भई विदेशिनु पर्ने बाध्यतालाई न्युनीकरण गरी स्वदेश मै युवा वर्गलाई रोजगारीका सम्भावनाहरुको वृद्धि र विकासमा टेवा पु¥याउने उद्देश्यले नगरपालिकाको सहयोगमा तालिम सञ्चालन गरिएको पनि प्रबन्धक सुवेदीले बताउनुभयो । तालिम बाट सिकेको कुराले असल गृहिणी, सक्षम कार्यालय सहयोगी र दक्ष नगर स्तरीय महिला बनाउन सहयोग पुग्ने पनि सुवेदीको विश्वास छ ।

सिद्धिचरण नगरपालिकाको सम्पूर्ण आर्थिक व्यबस्थापनमा गत विहिवारदेखी ७ दिने घरेलु सहायक तथा क्लिनर तालिम सञ्चालन भएको हो । तालिम ७ दिने भनिएपनि पाचौं दिनमा नै समापन गरिएको थियो । तालिमको अबधि ३५ घण्टे मात्रै भएकोले तालिमको समय बढाएर दिन घटाएर तालिम सकाएको आयोजकले जनाएको छ । महिला लक्षित बजेट तथा कार्यक्रम अन्तर्गत सिद्धिचरण नगरपालिकाको आयोजना तथा अबसर नेपाल प्रा.लि. काठमान्डौंको प्राबिधिक सहयोगमा तालिम सम्पन्न भएको हो । तालिम सञ्चालनको बारेमा अबसर नेपालले स्थानीय प्रशासनलाई जानकारी नदिएको र अनुमती नलिएको भन्दै प्रमुख जिल्ला अधिकारी पन्तले असन्तुष्टि समेत जनाउनु भएको थियो ।

तालिममा सहभागी भएका महिलाहरुले तालिम प्रभावकारी भएको बताएका छन् । आफुले तालिम बाट सिकेको सिपलाई व्यवहारमा लागु गर्ने पनि बताएका छन् । नगरपालिका भित्रका सबै वडाहरुलाई समेटेको भनिएपनि तालिममा नगरपालिकाका ७ वडाका ३८ जना महिला तालिममा सहभागी बनेका थिए । तालिममा सहभागी भएकाहरुलाई दैनिक पाँच सयका दरले यातायात खर्च समेत उपलब्ध गराईएको थियो ।