नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा शिक्षक नै यौन काण्डमा मुछिएपछि प्रहरीमा समेत खैलाबैला

ओखलढुङ्गान्युज, चैत १८ ओखलढुङ्गा ।
ओखलढुङ्गाका एक शिक्षक नै यौन काण्डमा मुछिएपछि खैलाबैला मच्चिएको छ । शिक्षकको यौनकाण्डमा भिडियो खिचेर ब्ल्याक मेलिङ गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका ११ मा अवस्थित सोब्रुको जंगलमा अश्लिल कार्य गरिरहेको अवस्थामा भिडियो खिचेर सार्वजानिक गरिदिने भन्दै रकम असुल्न खोजेको आरोपमा ७ जना पक्राउ परेका हुन् । काण्डमा मुछिएका शिक्षकको उजुरीका आधारमा उनीहरु पक्राउ परेका हुन् ।

सिद्धिचरण नगरपालिका वडा नं. ३ स्थित नारायणस्थान माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शंकरप्रसाद मेहताले विहिबार बिहान एक महिलासँग अश्लिल कार्य गरिरहेको बेला आपत्तिजनक अवस्थामा स्थानीयले भिडियो खिचेका थिए । उनीहरुलेले १ लाख रकम नदिए सो भिडियोलाई सार्वजनिक गर्दिने ब्याकमेलिङ गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा उदयपुर जिल्ला कटारी नगरपालिका १० बस्ने करण मगरसहित सोही स्थानका ज्ञानबहादुर आलेमगर, अनिल तामाङ, कमल मगर, पावल विक, ओखलढुंगाको मोलुङ गाउँपालिका ८ का राजकुमार राई र ओखलढुंगाको लिखु गाउँपालिका ५ का कृष्ण थापा छन् । प्रहरीले उनीहरुको विरुद्धमा म्याद थप गरि सार्वजनिक अपराध मुद्धा चलाएको छ ।

पक्राउ परेका ती युवाहरुले जंगलमा अश्लिल कार्य गरिरहेको अवस्थामा भिडियो र तस्बिर खिचेर सार्वजानिक गर्ने भनेपछि प्रहरीमा पुगेका शिक्षक मेहताले आफुले कुनै गलत काम नगरेको जिकीर गरेका छन् । आफू उपचारका लागि अस्पताल जाँदा युवाहरुले मोटरसाईकललाई बाटोमा रोकेर रकम मागेको शिक्षक मेहताको आरोप छ ।

उता प्रहरीले भने आफू सवार मोटरसाईकल नियन्त्रणमा लिएर रकम माग गरेको भन्दै शिक्षक मेहताले उजुरी गरेपछि युवाहरु पक्राउ गरेर म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताउनुभयो । ‘उजुरी आएपछि युवाहरुलाई हामीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ । रकम असुल्नु गैरकानुनी कार्य हो, त्यसैले उनीहरुविरुद्ध मुद्धा चलाइयो शर्माले भन्नुभयो ।’

शिक्षकको यौन काण्ड सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयमा समेत खैलाबैला मच्चिएको छ । स्थानीयले प्रहरीका घुमुवाले शिक्षकसँग पैसा लिएर मजदुरहरुले खिचेको भिडियो मोवाइलबाट डिलिट गरिदिएको आरोप लगाएका छन् । शिक्षकसँग पैसा लिएर भिडियो डिलिट गर्ने क्रममा घुमुवा प्रहरीले मजदुरमाथि कुटपिटसमेत गरेको उनीहरुको आरोप छ ।

भिडियो डिलिट गरेको विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा कार्यरत प्रहरी जवान भोलाकाजी भण्डारीले अनुसन्धानका लागि अर्को मोवाइलमा भिडियो सार्दा डिलिट भएको बताएका छन् । नियतले नभइ अर्को मोवाइलमा पढाउने क्रममा भिडियो हटेको भण्डारीको दावी छ ।

स्थानीयले प्रहरीका घुमुवाबाट यसअघि पनि पटक पटक पैसा असुलिएको गुनासो गरेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख अनन्तराम शर्माले घुमुवा भलाकाजी भण्डारीलाई जिम्मेवारी परिर्वतन गरेको जनाएको छ । भण्डारीले दशैताका प्रहरीको दशै खर्चवापत भन्दै जिल्लाका उद्योगी व्यापारीहरुसँग रकम उठाएको सदरमुकामका उद्योगी व्यापारीहरुको गुनासो छ । प्रहरीले सञ्चारकर्मीलाई उपलब्ध गराएको मेहेताको नाम नामेसी समेत फरक देखिएको छ । प्रहरीले शंकर मेहतालाई शंकरप्रसाद यादव भनी अर्कै नाम उपलब्ध गराएपछि प्रहरी प्रति आशंका उब्जेको छ ।

शिक्षक मेहताले प्रहरीलाई खबर गरेपछि घटनास्थल भनिएको स्थानमा पुगेको प्रहरीले मजदुरहरुलाई गिरफ्तार गरेको थियो । मजदुरमाथि मुद्दा चलाइएपछि स्थानीयले पैसाको चलखेलमा मजदुरमाथि कारवाही गरेर शिक्षकलाई जोगाउन खोजेको आरोप लगाएपछि प्रहरीले शिक्षकमाथिसमेत अनुसन्धान थालेको जनाएको छ ।