नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

जिल्ला भरि नै विविध कार्यक्रमका साथ मनाईयो अन्तराष्ट्रिय श्रमिक महिला दिवस

ओखलढुङ्गान्युज, फागुन २५ ओखलढुङ्गा
मार्च ८ । अर्थात अन्तराष्ट्रिय श्रमिक महिला दिवस । देशै भरि यो दिवस मनाई रहदा ओखढुङ्गामा पनि विविध कार्यक्रमका साथ यो दिवस मनाईएको छ । जिल्लाका अधिकांश गाउँपालिकाका केन्द्रहरु लगायत वडाहरु (साविकको) गाविसहरुमा विविध कार्यक्रमहरु सञ्चालन भएका छन् ।

महिलाहरुले महिला दिवस मनाउनेक्रममा मनोरञ्जन मूलक कार्यक्रमहरु सगै चेतना मूलक कार्यक्रमहरु पनि सञ्चालन गरेका छन् । कतिपय साविकका गाउँ विकास समिति हालको वडामा अन्य संघसंस्थाहरुले आर्थिक सहयोग गरेपनि कतिपय स्थानहरुमा महिलाहरु आफै जागरुक भएर आर्थिक संकलन गरि कार्यक्रम सञ्चालन गरेका छन् ।

महिला दिवस मनाउने क्रममा लिखु गाउँपालिकाको वडा नं. ३ नर्मदेश्वरमा चेतना मूलक हाजिरी जवाफ कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमको हाजिरी जवाफमा सहभागी भएका ९ टिम मध्ये सेतीदेवी आमा समुह प्रथम भएको छ । त्यस्तै वरपिपल आमा समूह दोश्रो र जवज्योती आमा समुह तेश्रो भएको छ । विजयी आमा समुहहरुलाई क्रमश १ हजार, ७ सय र ५ सय नगद पुरस्कार वितरण गरिएको छ । सहभागी सबै आमा समुहहरुलाई नगद २–२ सय वितरण गरिएको नर्मदेश्वरवाट नेत्र कुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै मोलुङ गाउँपालिकाको केन्द्र प्राप्चामा पनि महिला सग सम्बन्धित जनचेतना मूलक लोकदोहोरी प्रतियोगीता आयोजना गरिएको छ । प्रतियोगितामा साविकको प्राप्चा गाउ विकास समितिका ९ वडाहरुका आमा समुहले सहभागीता जनाएका थिए ।

सहभागी भएका आमा समुहहरु मध्ये भूमेदेवी स्वास्थ्य आमा समुह प्रथम, लालिगुराँस स्वास्थ्य आमा समुह दोश्रो र सिमलटार स्वास्थ्य आमा समुह तथा पोषण स्वास्थ्य आमा समूह तोश्रो भएका छन् । विजयी समुह तथा सहभागी सबै आमा समुहहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको प्राप्चावाट चण्डिका फुयालले जानकारी दिनुभयो ।

त्यसैगरी चम्पादेवी गाउपालिकाको वडा नं. ६ घोराखोरीमा पनि जनचेतना मूलक प्रतियोगितात्मक सास्कृतिक कार्यक्रम सञ्चालन गरिएको छ । प्रतियोगितात्मक सास्कृतिक कार्यक्रममा मखमली आमा समुह प्रथम, लालिगुराँस आमा समुह दोश्रो र भगवती आमा समुह तेश्रो भएका छन् ।

विजयी समूहहरुलाई क्रमशः नगद २ हजार, १ हजार ५ सय र १ हजारका साथै प्रमाणपत्र पनि प्रदान गरिएको छ । सहभागी अन्य सबै आमा समुहहरुलाई पनि नगद प्रदान गरिएको घोराखोरीवाट सृजना कुँवरले जानकारी दिनुभयो ।

महिला दिवसको अबसरमा यसै गरि जिल्लाभर नै जनचेतना मुलक कार्यक्रमहरुको आयोजना गरिएको बताईएको छ । दिवसको अवसरमा कार्यक्रम सञ्चालनका लागि जिल्लामा कृयाशिल रहेका विभिन्न गैह« सरकारी संघ संस्थाहरुले सहयोग समेत गरेका थिए ।