नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

कुरितीले हुने महिला हिंसा विरुद्ध सराेकारवालाहरुले जनाए प्रतिबद्धता

सरस्वती वानिया, फागुन २४ रुम्जाटार
आज ओखलढुङ्गामा पनि नगरपालिका स्तरिय अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमका साथ मनाईएको छ । सिद्धिचरण नगरपालिकाको वडा नं. ४ रुम्जाटारमा नगपालिका स्तरिय अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न भएको हो ।

आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाको जिवनस्तर रुपान्तरण भन्ने मूल राष्ट्रिय नाराका साथ महिला दिवस मनाईएको हो । महिला एकता कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा महिला तथा बालबालिका कार्यालय ओखलढुङ्गाको सहयोगमा कार्यक्रम सञ्चालन भएको हो ।

कार्यक्रमलाई सोच नेपाल ओखलढुङ्गाले पनि सहयोग गरेको थियो । युएसएआईडी र एफएचआई ३६० को सहयोगमा सोच नेपालको आयोजनामा महिला हिंसाको विरुद्धमा म बोल्छु लेखिएको व्यानरमा सामूहिक हस्ताक्षर अभियान पनि सञ्चालन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जनकराज पन्तले महिला माथि हिंसा तथा असहयोगको सुरुवाती पहिले घरबाटै हुने भएकोले त्यसलाई कम गर्न आफैवाट थालनी गर्नुपर्ने बताउनुभएको थियो ।

महिलाको चेतनामा विकास भए मात्रै महिला आर्थिक रुपमा सम्पन्न हुने बताउदै महिला र पुरुष बिचको विभिेदलाई अन्त्य गरि समतामा लानु पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा बोल्दै प्रजिअ पन्तले हिंसाका घटनाको विरुद्धमा सबैले ऐक्यवद्धता जनाउन आग्रह गर्दै आफुले पनि ऐक्यबद्धता जनाएको बताउदै प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

प्रजिअ पन्तले हस्ताक्षर गरे सगै महिला हिंसाको विरुद्धमा ऐक्यवद्धता जनाउदै सहभागीहरुले म बोल्छु लेखिएको व्यानरमा हस्ताक्षर गरेका थिए । प्रतिबद्धता जनाउन गरिएको हस्ताक्षर सहितको व्यानरलाई नगरपालिकामा बुझाएर सार्वजनिक स्थलमा टास गरिने सोच नेपालका विएन श्रेष्ठले बताउनु भयो । महिलामा माथि हुने विविध हिंसाका विरुद्धमा ऐक्यवद्धता स्वरुप आजै इक्वेलएक्सेसले पनि आफ्नो टोल फ्रि नम्बर मार्फत म बोल्छु भन्ने भ्वाईस क्याम्पेन पनि सञ्चालन गरेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै ओखलढुङ्गा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले परिवार तथा गाउँ समाजमा भएका घटनालाई कानुनी दायरामा ल्याएमा हिंसाका घटना कम हुने बताउनु भएको थियो ।

जिल्ला समन्वय समिति ओखलढुङ्गाका सदस्य सकुन्तला परियारले आफु पनि महिला हिंसा पिडीत महिला नै भएको बताउदै महिलाहरु आफै नै अगाडी सरेर घटनाको बारेमा उजागर र प्रतिवाद नगरे हिंसाका घटना कम नहुने बताउनु भयो । हिंसाका घटनालाई कम गर्न आवश्यकता अनुसार दोषीहरुलाई कानुनको कठघरमा ल्याउन महिलाहरु हिचकिचाउन नहुनेमा उहाँले जोड दिनुभयो ।

त्यस्तै कार्यक्रमलाई संबोधन गर्दै सिद्धिचरण नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रत्न बहादुर गुरुङले आफ्नो वडालाई हिंसा रहित महिला तथा बालमैत्री वडा घोषणा गर्न लागि पर्ने प्रतिबद्धता जनाउनुभएको थियो । दिवसको अवसर पारेर आजै रुम्जाटारमा महिला एकता कृषि सहकारी समूहको उद्घाटन पनि गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुवाट शेयर सदस्यहरुलाई शेयरको प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

रुम्जाटारको टुडिखेलबाट सुरुभएको विभिन्न नारा सहितको ¥यालीले बजार परिक्रमा गर्दै पुन टुडिखेलमा नै पुगेर ¥याली सभा कार्यक्रममा परिणत भएको थियो । रुम्जाटारमा रहेका विभिन्न विद्यालयका विद्यार्थी कलाकारहरुले कार्यक्रममा सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

अन्तराष्ट्रिय महिला दिवसकाे अबसरमा रुम्जाटारमा भएकाे कार्यक्रमकाे झलक तस्वीरमा :