नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

छोराको स्मृतिमा जनस्वास्थ्य इकाइको स्थापना

ओखलढुङ्गान्युज, फागुन २३ ओखलढुङ्गा
ओखलढुङ्गाको मोलुङ्ग गाउँपालिका ५ लिस्पुका एक परिवारले आफ्नो छोरोको स्मृतिमा जनस्वास्थ्य इकाइ स्थापना गरेको छ । मोलुङ्ग गाउँपालिका वडा नं. ५ का नेपाल परिवारले अल्पायुमै ज्यान गुमाएका आफ्ना छोराको स्मृतिमा जेपी (जयप्रसाद) स्मृति जनस्वास्थ्य इकाइ स्थापना गरेको हो ।

जयप्रसादका बुबा मोतिलाल नेपाल र आमा देवी नेपालले तीन आना जग्गामा दुई तल भवन निर्माण गरेर जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगालाई हस्तान्तरण गर्नु भएको हो । मृगौला रोगबाट पीडित आफ्नो ३५ वर्षीय छोरा जयप्रसाद नेपालको मृत्यु भएपछि छोराको सम्झनामा जनस्वास्थ्य ईकाई स्थापना गरि जिल्ला स्वास्थ्यलाई हस्तान्तरण गरेको हो ।

छोराले आफुलाई अंश वापत ३ आना जग्गा मात्र मागेको र उसको अल्पायुमै मृत्यृ भएकाले अन्य सर्वसाधारणले गाउँमै उपचार पाउन सकुन भन्ने उद्देश्यले जनस्वास्थ्य इकाइ स्थापना गरिएको नेपाल परिवारले जनाएको छ ।

साविकको श्रीचौर गाविसको मंगलबारेमा स्वास्थ्य चौकी भए पनि लिस्पुका बासिन्दाले स्वास्थ्य सेवा उपभोग गर्न समस्या भै रहेको थियो । यहाँ जनस्वास्थ्य इकाइ स्थापना भएपछि निकै सहज भएको स्थानीय बासिन्दाहरुले बताएका छन् । अहिले मोलुङ गाउँपालिकाले औषधी र दुई जना कर्मचारी खटाएर सेवा समेत शुचारु गरि सकेको छ । इकाइको स्थापना भने ०७१ सालमै भएको हो ।

नेपाल परिवारले छोराका नाममा रहेको इकाइको नाम परिवर्तन नगरि संचालनका लागि स्थानीय सरकार र सरोकारवाला निकायहरुसँग अनुरोध गरेको छ ।