नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

सरिरमा रेडियो ट्रान्समिटर जोडिएको चिल भेटियो

ओखलढुङ्गान्युज, फागुन ५ रौतहट ।
रौतहटमा एउटा अनौठो चिल फेला परेको छ । फेला परेको चिलको शरिरमा विद्युतिय यन्त्र जडान भएका छ । चिलको पिठ्यूँमा रेडियो ट्रान्समिटर जस्तो यन्त्र जडान भएको पाईएको छ । उक्त चिल मंगोलियन महाचिल रहेको बताईएको छ ।

रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका– १ शीतलपुरमा शुक्रबार बेलुकी ८ बजे तिर मंगोलियन चिल फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शीतलपुरको खेतमा रहेको उक्त चिललाई स्थानीय बालबालिकाले समातेका थिए । समातेको चिलको शरिरमा र खुट्टामा केही नयाँ कुरा देखेर उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।


चिलको दाहिने खुटामा लगाइएको गोलो रिङमा oxnith.lab, nst.biol,mongolia 271 लेखिएको छ ।

प्रहरीले चिललाई जिल्ला वन कार्यालय रौतहटमा पठाएको छ । चिलको शरिरमा विभिन्न विद्युतिय यन्त्रको जडान भएकोले थप अनुसन्धान गर्न जिल्ला वन कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।

जिल्ला वन कार्यालय रौतहटका प्रमुख दीर्घ कोइरालाले सोलार प्यानल सहितको रेडियो ट्रान्समिटर जस्तो यन्त्र जडित चिल मिंगोलियाबाट नेपाल आएको बताए । यसको विषयमा थप अनुसन्धान भै रहेको पनि कोईरालाले बताए ।

यो मंगालियन प्रजातिको गोमायु महाचिल हरेक हिउँदमा नेपाल आउने गरेको चराविदहरु बताउछन् । विश्वमा भरि जम्मा ३९ प्रजातिको चिलमध्ये गोमायु महाचिल लोपोन्मुख चिलको रुपमा रहेको र संरक्षणको प्रयास विश्वव्यापी भइरहेको छ । यो चिल मंगोलिया र आसपासका देशहरुबाट नेपाल, पाकिस्तान हुँदै अफ्रिकासम्म पुग्ने र फर्कने गरेको चराविद डाक्टु भवानी बरालले बताए ।

चिलको पिठ्यूँमा रहेको यन्त्र उक्त चराबारे अध्ययनका लागि जडान गरिएको हुनसक्ने पनि अनुमान गरिएको छ । तर यो चिल कहावाट आएको र शरिरमा जोडिएको यन्त्र के हो र कसले, के प्रयोजनका लागि जोडेको हो भन्ने बारेमा अनुसन्धान भै रहेको जिल्ला बन कार्यालय रौतहटले जनाएको छ ।