नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

युवा वडा अध्यक्षको सक्रियतामा टोल टोलमा शिविर

ओखलढुङ्गान्युज, फागुन ४ ओखलढुंगा ।
ओखलढुङ्गाका एक स्थानीय तहका दुईओटा वडाहरुले स्थानीय स्तरमा नै कर शिविर सञ्चलन गरेका छन् । जिल्लाको सुनकोशी गाउँपालिकाका वडा नं. ९ र वडा नं. ५ ले शिविर सञ्चालन गरेका हुन् । शिविरमा कर संकलन र सेवा प्रवाह दुवैलाई साथसाथै अभियान चलाएका छन् ।

वडा अध्यक्षहरुले नागरिकलाई कर तिर्न उत्प्रेरित गर्ने उद्देश्यले अभियान चलाएको वताएका छन् । वडा नं. ९ (साविकको कटुञ्जे गाविस) मा तीन स्थानमा कर संकलन घुम्ती शिविर नै संचालन गरिएको छ । वडा कार्यालयले दिने सेवा र भुमीकर तथा घरधुरी कर सँगसँगै संकलन गरिएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार वडा कार्यालयले पाँच दिने घुम्ती शिविर वडाका तीन स्थानमा संचालन गरेको हो । पाँचदिन सम्म सञ्चालित शिविरवाट वडाका ४ सय १३ परिवारका ६ सय २५ जनालाई टोलटोलमै सेवा दिइएको र राज्यलाई कर तिर्नु पर्ने दायित्व समेत बुझाइएको वडा अध्यक्ष कार्कीले वताए । यो अभियानबाट कार्यालयले पाँच दिनमा ७० हजार ३ सय ८५ रुपैंया राजश्व संकलन गरेको छ ।

सिविरमा गत आर्थिक वर्ष सम्मको भुमिकर मिनाहा गरिएको थिया भने चालु आ.ब.को समयमा नै कर तिर्ने सेवाग्राहीहरुलाई भुमीकर र घरधुरीकरमा ५० प्रतिशत छुट दिइएको अध्यक्ष कार्कीले बताए । गाँउ वस्तिमै विना झन्झट सेवा पाएकोमा सेवाग्राहीहरुले खुसी व्यक्त गरेका छन् ।

त्यस्तै सुनकोशी वडा नं. ५ (सविकको मुलखर्क गाविस) मा वडा कार्यालयमै सप्ताहव्यापी कर शिविर सञ्चालन गरिएको थियो । एक हप्ता चलाइएको अभियानबाट वडा कार्यालयले ७२ हजार ४ सय ३२ रुपैंया कर संकलन गरेको अध्यक्ष गोविन्दराम तामाङले जानकारी दिए । अध्यक्ष तामाङका अनुसार घरधुरी तथा मालपोत कर तिर्न नागरिकहरु साँझसम्म लाइन बसेका थिए ।

स्थानीय सरकार बलियो बनाउन र आयस्रोत बृद्धि गर्न यस्तो अभियान चलाइएको वडा अध्यक्षहरको भनाइ छ । युवा वडा अध्यक्षहरुले गरेको यो कामलाई सरोकारवालाहरुले खुलेर प्रसंशा गरेका छन् । त्यस्तै जिल्लाका अन्यक्षेत्रहरुमा पनि यस्ता अभियानरु सञ्चालन हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।