नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

स्थानिय तहको सक्रियता ः चिसंखुगढी गाउँपालिकाले तोक्यो सडक निर्माणको मापदण्ड

ओखलढुङ्गान्युज, फागुन ४ ओखलढुंगा ।
स्थानिय तहले सक्रियता देखाएन भनेर गुनासो आईरहेको बेला ओखलढुङ्गाका स्थानिय तहले सक्रियता देखाउन थालेका छन् । सक्रियता देखाउदै ओखलढुङ्गाको उक गाउँपालिकाले आफ्नो अधिकार क्षेत्र प्रयोग गरि सडक निर्माणको मापदण्ड तयार गरेको छ ।

यहाँको चिसंखुगढी गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्र निर्माण हुने सडकको मापदण्ड तोकेको छ । गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन ०७४ को दफा २५ मा गाउँपालिका भित्रका सडक निर्माणको मापदण्ड तोक्न सक्ने व्यवस्था छ । त्यही दफालाई टेकेर गाउँपालिकाले सडक निर्माण गर्दा आवश्यक मापदण्ड तोकेको हो ।

सडक निर्माण गर्दा दुइ खाले सडकको वर्गीकरण गरेर मापदण्ड तोकिएको गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले जानकारी दिए । शर्माका अनुसार मापदण्ड अनुसार सडक निर्माण गर्दा सडको दिगोपना र भुक्षय समेत कम हुने अपेक्षा लिइएको छ ।

तेकिएको मापदण्ड अनुसार ६ ओटा सडकको चौडाइ ११ मिटरको हुनु पर्ने छ । ओखलढुंगा–रवुवा–सिलौरीघाट, रुम्जाटार–ठोट्ने–रातमाटे–खानीभञ्ज्यांग, बर्णालु हुदै लेखर्क जाने सडक, रुम्जाटार हुदै आँप स्वारा–खानीभञ्ज्यांग सडक र रभुवा हुँदै माम्खा–गैरी पत्ताले सडक ११ मिटरभन्दा साँगुरो निर्माण गर्न पाइने छैन ।

त्यस्तै गाउँपालिकाभित्र निर्माण गरिने अन्य सडकहरु ६ मिटरभन्दा साँघुरा निर्माण गर्न नमिल्ने गरि गाउँपालिकाले मापदण्ड तयार गरेको छ । गाउँ–पालिकाले सडक निर्माण गर्दा मापदण्ड पालना गरे–नगरेको अनुगमन गर्ने प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए ।