नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सोलुखुम्बुमा हिमपात ः स्थानीय हर्षित

ओखलढुङ्गान्युज फागुन ३ सोलुखुम्बु  ।
मौसमको बदली सगै परेको पानीका कारण सोलुखुम्बुको माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ । जिल्लाको खुम्बु क्षेत्रसहित नेले, काँगेल, सोताङ, काकु, बासा लगायतका क्षेत्रमा अत्याधिक मात्रामा हिमपात भएको छ ।

सगरमाथाको काखमा रहेको चौँरीखर्क, नाम्चेमा मंगलबारदेखि नै हिउँ परेको थियो । हिमपात भएपनि विगतका वर्षहरुको जस्तो हिमपात भने अझै भएको छैन । हिमपातसँगै हल्का वर्षा भएपछि जनजीवन कष्टकर बने पनि स्थानीय भने हर्षित भएका छन् । लामो समयदेखि हिउँ नपरेको काँगेल क्षेत्रमा यस वर्ष हिउँ परेको छ ।

बुधबार दिउँसो करिब ४ घण्टा हिमपात भएको स्थानीय सुजन राईले जानकारी दिए । राईले भने, ‘जन्मेको ३४ वर्ष भयो, यति धेरै हिउँ परेको मलाई थाहा थिएन, यस वर्ष हिउँ प¥यो, हिउँमा खेल्न पाउँदा एकदमै खुसी लाग्यो ।’ हिउपरेको क्षेत्रमा २ फिटसम्म हिउँ झरेको बताइएको छ ।

जिल्लाको सदरमुकामसहित अन्य क्षेत्रमा सामान्य वर्षा भएको छ भने अत्यधिक चिसो महसुस गरिएको छ । पानी प्रशस्त नपरे पनि यहाँ चिसो भने बढेको छ । ओखलढुङ्गामा पनि चिसो बढेपनि यस पटक ओखलढुङ्गाका कुनै पनि भूभागहरुमा हिमपात भने भएको छैन ।