नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

माओवादीले मनाए २३ औं बार्षिकोत्सव

विवेश श्रेष्ठ, फागुन १ ओखलढुङ्गा ।
सशस्त्र जनयुद्धको सुरुवाती भएको दिनको सम्झना स्वरुप आज माओवादीले देशै भरि जनयुद्ध दिवस आ–आफ्नै तरिकाले मनाएका छन् । त्यसै क्रममा ओखलढुङ्गामा पनि माओवादीले स्थापना दिवस मनाएका छन् । २३ वर्षअघि आजकै दिन अर्थात् २०५२ फागुन १ गते जनगणतन्त्र स्थापनाका लागि भन्दै माओवादीले सशस्त्र जनयुद्ध सुरु गरेको थियो । माओवादी केन्द्रले आफ्नो मुख्यालय पेरिसडाडामा जनयुद्ध दिवस मनाई रहदा विप्लब र बैद्य नेतृत्वको माओवादीले भने राष्ट्रिय सभागृहमा सामान्य कार्यक्रम गरि मनाएका छन् ।

ओखलढुङ्गामा माओवादी केन्द्रले जनयुद्धको शुभकामना दिदै विज्ञप्ती निकाले पनि अन्य खासै कुनै कार्यक्रम सञ्चालन गरेन । तर बैद्य र विप्लब नेतृत्वको माओवादीले भने ओखलढुङ्गा सदरमुकाममा नाराबाजी सहित प्रदर्शन गरेको छ । नाराबाजी सहित जिल्ला अदालत अगाडीवाट सुरु भएको ¥याली बजार परिक्रमा गर्दै लोकतान्त्रिक चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका जिल्ला संयोजक बालकृष्ण राई आदर्श र विप्लब नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी अमृत बस्नेतले सम्बोधन गरेका थिए ।

पार्टी शान्तिपूर्ण आन्दोलनमा आएपछि टुक्रिएर चिराचिरा भएको माओवादी पार्टी अहिले मुख्य गरि प्रचण्ड खेमा, किरण खेमा र विप्लब खेमा गरि ३ वटा चिरामा विभक्त भएको छ । विभिन्न कार्यक्रममा किरण नेतृत्वको क्रान्तिकारी माओवादी र विप्लब नेतृत्वको नेकपालाई प्रचण्डले एकतामार्फत मूल पार्टीमा आउन आग्रह गरिरहेका छन् । तर मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ले भने प्रचण्डले क्रान्तिलाई धोका दिएको भन्दै कुनै हालतमा एकता हुन नसक्ने बताउँदै आएका छन् ।

पछिल्लो समय क्रान्तिकारी माओवादी र नेकपा एकता गर्ने खाकाका साथ अघि बढिरहेका छन् । यसैको एक आधार स्वरुप उनीहरूले जनयुद्ध दिवस फागुन १ लाई पनि संयुक्त रूपमा मनाएका छन् । यी पार्टीमा मंगलबारबाट माओवादी केन्द्रको अर्को एक समूह पनि नजिक भएको छ ।

एमालेसँगको एकता प्रक्रिया अघि बढेपछि माओवादी केन्द्रसँग असन्तुष्ट बनेका पार्टीका प्रदेश नम्बर १का इञ्चार्ज गोपाल किराती र कार्यालय सदस्य विश्वभक्त दुलाल ‘आहुति’ आफ्नो पार्टीको वृहत कार्यक्रम हुँदाहुँदै त्यसलाई छाडेर सभागृहमा पुगेर जनयुद्ध दिवस मनाए । पार्टी एकताको विरोध गर्दै आएका किराती र आहुतिले माओवादी केन्द्रबाट असन्तुष्ट भएर संयुक्त रूपमा भएको कार्यक्रममा सहभागिता जनाएको बताएका छन् ।

माओवादी केन्द्रका नेता किरातीले माओवादी केन्द्र एमालेमा विलय हुन लागेको दाबी गरे । ‘माओवादीका केही नेताले एकता भन्छन् तर एकता होइन । उहाँहरू एमालेमा गएर विलय हुन लाग्नुभएको हो। उहाँहरू विलय भएपछि माओवादी हामी चलाउँछौँ । हामी पार्टीलाई पुनर्गठन गर्छौं ।’ संयुक्त कार्यक्रममा गए पनि आफूहरू वैद्य र विप्लवको पार्टीसँग एकता गर्ने सम्भावना नरहेको किरातीले बताए।

किरातीले आफूहरू दीर्घकालीन योजना बनाएर अघि बढ्ने पनि बताए । उनले एमालेसँगको पार्टी एकताका विषयमा माओवादी केन्द्रभित्र एक पटक पनि छलफल नभएको बताए । उता माओवादी केन्द्रले भने एमालेसगको पार्टी एकताको कुरा फागुनको पहिलो हप्ता भित्र टुङ्गोमा पुगिसक्ने बताएको छ ।