नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

भिजन एफएमको वार्षिकोत्सव ः भिजन डान्सिङ स्टार सिजन– २ मा ५२ जना

ओखलढुङ्गान्युज, माघ २६ ओखलढुंगा ।
ओखलढुंगाको सामुदायिक रेडियो भिजन एफएम ९०.५ मेगाहर्जले आयोजना गरेको भिजन डान्सिङ स्टार सिजन २ मा ५२ जना स्थानीय कलाकार छनौट भएका छन् । रेडियोको स्थापना दिवसको अवसर पारेर जिल्लाका विभिन्न पाँच वटा स्थानीय तहबाट भिजन डान्सिङ स्टार सिजन– २ को प्रारम्भिक छनौट गरेको हो । ती स्थानमा भएको प्रारम्भिक छनौटबाट ६ वर्षदेखि २० वर्षसम्मका कलाकार छनौट भएका एफएमका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताउनुभयो ।

गाउँमा लुकेर रहेका प्रतिभाहरुको क्षमता विकास गर्दै कलाकारिता क्षेत्रमा अघि बढ्न प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

पहिलो चरणको अडिसनबाट छनौट भएका प्रतिभाहरुले तयारी गीतमा नृत्य प्रस्तुत गर्नु पर्ने हुन्छ । पहिलो चरणबाट छनौट भएका प्रतिभावहरुमध्येबाट उत्कृष्ट १० जना छनौट हुनेछन् । ती मध्ये पनि रेडियो स्थापना दिवस फागुन २ गते उत्कृष्ट ३ जना छनौट गरिने आयोजक संस्थाले जनाएको छ । उत्कृष्ट ३ मध्ये प्रथम हुनेले ट्रफी, प्रमाणपत्रसहित १० हजार द्वितीय हुनेले ७ हजार र तृतीय हुने ले पाँच हजार पुरस्कार दिइने छ ।

सहभागीहरुमध्ये अधिकांश विद्यालय स्तरका बालकलाकारहरु रहेका छन् । सबैभन्दा कम उमेरकी ६ वर्षीया ऐश्वर्या मगराति छनौट भएकी छन् । पहिलो चरणको छनौट मोलुंग, सुनकोशी, मानेभञ्ज्यांग, खानीभञ्ज्यांग र सिद्धिचरण नगरपालिकामा भएको थियो ।

छनौट भएका ५२ जनामध्ये हरेक दिन १० जना प्रतियोगिताबाट आउन हुने छन् । चौथो चरणमा उत्कृष्ठ १० र पाँचौं चरणमा उत्कृष्ट ३ छनौट हुने एफएमका स्टेशन म्यानेजर रविन श्रेष्ठले बताउनुभयो । रेडियोले हरेक वर्ष जिल्ला स्तरीय डान्सिङ स्टार आयोजना गर्दै आएको छ । विश्व रेडियो दिवस फागुन २ गते पारेर स्थापना भएको भिजन एफएमले आफ्नो वार्षिकउत्सव विभिन्न कार्यक्रमका साथ मनाउदै छ ।