नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

कृषक ठग्ने कृषि प्राबिधिकलाई ६ महिना कैद , २० हजार जरीवना

अाेखलढुङ्गान्युज २५ माघ ओखलढुुंगा ।
ओखलढुंगामा कृषक ठगी गर्ने एक सरकारी कर्मचारीलाई ६ महिना कैद र २० हजार रुपैंया जरीवनाको फैसला सुनाएको छ । जिल्ला कृषि विकास कार्यालय ओखलढुंगा अन्र्तगत खिजीफलाटे कृषि सेवा केन्द्रका तत्कालीन प्रमुख सिंहेश्वर महतोलाई जिल्ला अदालत ओखलढुंगाले कृषकलाई ठगी गरेको अभियोगमा ६ महिना कैद र २० हजार रुपैंया जरीवनाको फैसला सुनाएको हो ।

महतोले कृषकसँग विभिन्न वहानामा धोका दिइ ठगि गरेको ठहर गर्दै जिल्ला न्यायधीश कैलाश केशीको एकल इजलाशले उक्त फैसला सुनाएको हो । सेवा केन्द्रमा कार्यरत रहँदा अलैचीँ खेति गर्ने कृषकहरुलाई तालिम सञ्चालन गर्ने भनि कृषि वन तथा वातारण समितिबाट १० हजार, तरकारी खेतिका लागी योजना पारि दिने बहानामा विभिन्न व्यक्तिसँग २ हजारका दरले १० हजार रुपौया गरी जम्मा २० हजार रुपौया लिएको देखिएकाले मुलुकी ऐन अन्तरगत ठगी महलको ४ नम्बर अनुसार ६ महिना कैद र विगो अनुसार जरिवाना हुने फैसला भएको जिल्ला अदालत ओखलढुंगाका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

महतोले आफु कार्यालय प्रमुख रहदाँ शान्तबहादुर तामाङसँग २ हजार, अर्जुन वस्नेतसँग २ हजार, सोमबहादुर तामाङसँग २ हजार र मानबहादुर खड्कासँग ४ हजार र तत्कालीन रावादोलु कृषि वन तथा वातावरण समितिबाट १० हजार गरी २० हजार रकम असुलेका थिए ।

कृषकहरुले आफुहरुलाई धोका दिइ प्रलोभनमा परि ठगी गरेको भन्दै २०७३ साल भदौ २१ गते मुद्दा गराएका थिए । सोही अनुसार जिल्ला अदालत ओखलढुंगाले उक्त मुद्दामा सुनुवाइ गर्दै माघ १७ गते सो फैसला गरेको हो । महतो हाल सप्तरी जिल्लामा कार्यरत रहेका छन् ।