नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

रुम्जाटारमा सार्वजनिक सुनुवाई ः नगरपालिकाले ग¥यो १२ बुँदे प्रतिबद्धता

ओखलढुङ्गान्युज माघ २० ओखलढुंगा ।
जिल्लाको एकमात्र नगरपालिका सिद्धीचरण नगरपालिकाले सेवालिन आउनेहरुलाई दिदै आएको सेवाको गुणस्तर सुधार गर्दै पारदर्शीता र जवाफदेहिता बढाउन प्रतिवद्धता जनाएको छ । गत बुधवार रुम्जाटारमा भएको सार्वजनिक सुनुवाई कार्यक्रम पछि नगरपालिकाले १२ बुँदामा प्रतिवद्धता सार्वजनिक गरेको छ ।

नगरपालिकाले विकास निर्माणलाई प्रभावकारी बनाउन चालु आर्थिक वर्षका सबै खाले विकास योजना फागुन मसान्तभित्र सम्झौता सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै सबै वडा कार्यलयमा इन्टरनेट सेवा जडान गर्ने, नगरपालिकाको आर्थिक स्रोत बृद्धि गर्न पेश्की र बेरुजु शून्य बनाउने र एकिकृत सम्पति कर व्यवस्थित बनाउने पनि प्रतिवद्धता जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता पाउनेको फोटोसहित अभिलेख राख्ने, स्वास्थ्य र शिक्षाको गुणस्तरीयता कायम गर्ने, रुम्जाटार विमानस्थलमा उडान नियमित गर्न पहल गर्ने, भूकम्प पीडितले अनुदान प्राप्त गर्न भएका कठिनाइ समाधान गरी अनुदान सहजताका साथ उपलब्ध गराउने, निर्माण सम्पन्न भइ अनुदान नपाएका घरहरुको सुधार गरी अनुदान उपलब्ध गराउन पहल गर्ने र विद्युतिय बडा पत्र राख्ने प्रतिवद्धता जनाएको हो ।

सिद्धिचरण नगरपालिकाले इन्सेकसँगको सहकार्यमा आयोजना गरिएको सार्वजनिक सुनुवाईपछि नगरपालिकाले यस्तो प्रतिबद्धता सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सार्वजनिक सुनुवाइमा संघीय व्यवस्थापिका सांसद यज्ञराज, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त लगायतका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको समेत उपस्थिती थियो ।