नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

सदरखोर पुगेका बाबुरामले भने, बालकृष्ण ढुंगेल जस्ता जनयुद्धका हाँगाहरु ……………….

ओखलढुङ्गान्युज माघ १९ काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवंम नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बालकृष्ण ढुंगेललाई भेट्न सदरखोर डिल्लिबजार पुगेका छन् । बुधबार मध्यान्ह डिल्लिबजारस्थित सदरखोर कारागारमा पुगेर हत्या अभियोगमा जन्मकैद सजाय भोगिरहेका माओवादी नेता ढुंगेललाई भेटेका हुन् ।

भेटपछि डा. भट्टराईले आफूलाई निकै आत्मग्लानी अनुभूति भएको बताएका छन् । डा. भट्टराईले क्रान्तिलाई अपराध मान्न आफू तयार नभएको पनि बताएका छन् ।

“जनयुद्धका सहयोद्धा तथा पूर्व सभासद बालकृष्ण ढुंगेललाई आज डिल्लिबजार सदर कारागारमा भेट्दा निकै आत्मग्लानीको अनुभूति भयो । क्रान्तिलाई अपराध मान्न मन कत्ती तयार भएन ।” डा. भट्टराईले फेसबुक पेजमा लेखेका छन् ।

फेशबुक स्टाटसमा मार्फत भट्टराईले जनयुद्धरुपी क्रान्तिकारी रुखको फल गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी/समानुपातिक लोकतन्त्रको फल मिठो मानेर थपीथपी खाने तर त्यो फलाउने रुखका रुपमा रहेका बालकृष्ण ढुंगेल जस्ता हाँगाहरु बालेर आगो ताप्न कसरी सकिन्छ भन्दै प्रश्न पनि गरेका छन् ।

सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता ढुंगेल कात्तिकदेखि सदरखोरमा सजाय भोगिरहेका छन । तर जेलमा सजाय भोगी रहेका नेता ढुङ्गेलले आफु निर्दोशी रहेको भन्दै आफु जनयुद्धको एक बफदार सिपाही मात्रै रहेको बताउदै आएका छन् । जेल परेको लामो समय पछि पहिलो पटक पूर्व प्रधानमन्त्री एवम् नयाँशक्ति पार्टी नेपालका संयोजक डा. भट्टराई ढुङ्गेललाई भेट्न पुगेका हुन् ।