नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

ओखलढुङ्गामा ५० हजार बोकेर झण्डै ७ हजार बेपत्ता

विएन श्रेष्ठ, माघ ६, ओखलढुङ्गा ।
भुकम्पवाट प्रभावित लाभग्राही बनेर ओखलढुङ्गावाट हालसम्म करिब १९ हजारले पहिलो किस्ता बापतको रकम लिएका छन् । भुकम्प पुननिर्माण प्राधिकरण, जिल्ला समन्वय शाखा ओखलढुङ्गाका अनुसार पौष मशान्त सम्म १८ हजार ९ सय ८१ जनाले पहिलो किस्ता वापतको रकम ५० हजार बुझेका छन् । अब पनि तपाई राज्यबाट पाएको अनुदान रकम घर नबनाई पचाउन खोज्दै हुनुहुन्छ ? याद गर्नुस, भूकम्प पीडितलाई आवास निर्माणका लागि दिएको पहिलो किस्ताको रकम पचाउन त्यति सजिलो छैन ।

भूकम्प प्रतिरोधी निजी आवास बनाउन राज्यले दिएको पहिलो किस्ता वापतको ५० हजार रुपैयाँको हिसाब किताब राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खोज्न थालिसकेको छ । ओखलढुङ्गामा पनि त्यसको वास्तविक अबस्थाको बारेमा अनुसन्धान सुरु भएको छ ।

केहीले फिर्ता गरे

अनुदान लिएर घरको जगसमेत नउठाउने लाभग्राहीको लगत पुनर्निर्माण प्राधिकरणले खोज्नुअघि केही नागरिकहरुले ईमान्दारी पूर्वक राज्यको पैसा फिर्ता गरेका छन् । मकवानपुरका तीनजनाले राज्यबाट लिएको ५० हजार अनुदान पुनर्निर्माण प्राधिकरणले खोज्नुअघि नै फिर्ता गरेका छन् ।

राज्यले कारवाही थाल्नुअघि नै उनीहरु आफैंले अनुदान रकम फिर्ता गरेर भूकम्पपीडितको लिष्टबाट आफ्नो नामसमेत हटाएका छन् । तर त्यस भन्दा बाहेक अन्य जिल्लाहरुका नागरिकहरुले भने फिर्ताको थालनी गेका छैनन् । प्राधिकरणका अनुसार हेटौंडा उपमहानगर वडा नम्बर ८ का भूकम्पपीडित तुलाबहादुर लामा तथा इन्द्र सरोवर गाउँपालिका २ का रामशरण भुलुन र ठूले तामाङले एक वर्षअघि लिएको ५० हजार प्राधिकरणकै बैंक खातामा फिर्ता गरेका छन् ।

यस्ता करिव २ लाख व्यक्तिले अनुदान लिएर घर नबनाएको अनुमान छ । प्राधिकरणका एक अधिकारीका अनुसार ८ लाख भूकम्प पीडितमध्ये बढीमा साँढे ५ लाखमात्र वास्तविक पीडित भएको र अरु नक्कली पीडित रहेको अनुमान छ । त्यस्तै ओखलढुङ्गामा पनि करीब ४ हजार त्यस्ता नक्कली पिडितहरु रहेको अनुमान छ ।

ओखलढुङ्गामा ५० हजार बोकेर झण्डै ७ हजार बेपत्ता

०७३ पुसभित्र अनुदान लिएकाहरुले यो पुस मसान्तभित्र घर निर्माण गरेर दोस्रो किस्ताको अनुदान लिन आवेदन दिइसक्नुपर्ने थियो । प्राधिकरणले यस बारेमा सूचना समेत जारी गरेको थियो । पुननिर्माण प्राधिकरणले ओखलढुङ्गामा १८ हजार ९ सय ८१ जना लाभग्राहीसँग सम्झौता गरेर पहिलो किस्ताको ५० हजार अनुदान दिइसकेको छ । ओखलढुङ्गा प्राधिकरणका अनुसार तीमध्ये १२ हजार ३८ जना भूकम्प पीडितले घर निर्माण जारी राखेका छन् ।

ओखलढुङ्गामा प्रथम किस्ता रकम लिएका करिब ७ हजार अर्थात ६ हजार ९ सय ४३ ‘भूकम्प पीडित’ बेखबर छन् । उनीहरुमध्ये अधिकांशको काठमाडौं वा अन्यत्र घर भएकाले अनुदान रकम बुझ्ने तर घर नबनाउने नियत देखिएको छ । कतिपयको भने एकाघर सगोलमा बसेका बाबु–छोरा, श्रीमान–श्रीमतीले समेत अनुदान रकम लिएकाले घर नबनाउने र अनुदान रकम पचाउने नियत देखिएको छ । पहिलो किस्ता लिएर घर नबनाएका तर घर बनाउने समयसिमा बारे प्राधिकरणको चेतावनीपछि धमाधम जग खनेर पहिलो डीपीसी गर्नेहरुको संख्या पनि उल्लेख्य छ ।

यद्यपि पुननिर्माण प्राधिकरण जिल्ला समन्वय ओखलढुङ्गाका सूचना अधिकारी ईश्वर चर्माकार भने अनुदान रकम लिएको एक वर्षभित्र दोस्रो किस्ताको लागि निवेदन नदिनेहरुको छानविनपछि मात्र कसले ५० हजार पचाउन खोजेको हो र कसले समस्यामा परेर घर निर्माण गर्न नसकेको हो भन्ने यकिन हुने बताए । उनका अनुसार पहिलो किस्ता रकम लिएर घर निर्माण नगरेको उचित कारण उल्लेख गरेमा दोश्रो किस्ता रकम प्राप्त गर्नसक्ने आधार हुन्छ, नत्र राज्यको कारबाहीबाट उनीहरु टाढा रहन सक्दैनन् ।

चर्माकारका अनुसार जसले पुस मसान्तभित्र घरको जग उठाएका छैनन्, उनीहरुले समस्यामा परेर नसकेको हो भने सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्छ, निवेदनका आधारमा घर बनाउनका लागि केही समय दिन सकिन्छ । नत्र अनुदान रकम फिर्ता गराउने प्रक्रिया शुरु हुन्छ ।

ओखलढुङ्गामा कतिले बनाए घर ?

अहिलेसम्म निजी घर निर्माणका लागि ५० हजार अनुदान लिएका मध्ये ११ हजार २ सय जनाले दोस्रो किस्ताको डेढ लाख रकम पाउन सिफारिस गरिसकिएको छ भने ८ हजार १९ जनाले दोश्रो किस्ता लिइसकेका छन् । त्यस्तै करिब २ हजार ५ सयले दोस्रो किस्ताको डेढ लाख रुपैयाँ पाउन निवेदन दिएका छन् ।

 

हालसम्म घर निर्माण सम्पन्न गरेर २ हजार ३ सय २९ जना लाभग्राहीले तेस्रो किस्ताको रकम पनि लिइसकेका छन् । ४ हजार २९ जना लाभग्राही घरधनीले घर निर्माण सम्पन्न गरी अन्तिम तेस्रो किस्ताको रकम पाउन निवेदन दिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ५ हजार ५ सय १४ घर निर्माण सम्पन्न भएका छन् ।

पहिलो किस्ताको रकम लिएर घर नबनाउनेको हकमा के गर्ने भन्ने विषयमा प्राधिकरणमा छलफल भइरहेको छ । यसअघिनै राज्यको अनुदान लिएर घर नबनाउनेलाई कालोसूचीमा राखेर कारवाही गर्ने र रकम फिर्ता गराउने निर्णय भइसकेको छ । केही दिन यता केही सञ्चारमाध्यममा भुकम्पको पहिलो तथा दोश्रो किस्ता लिने समय अबधि थपिएको समाचार आएपनि उक्त समाचार आधिकारीक नभएको प्राधिकरणले जनाएको छ ।

ओखलढुङ्गामा नक्कली भूकम्पपीडित कति होलान् ?

ओखलढुङ्गामा पहिचान भएका लाभग्राहीको सख्या २० हजार १ सय ६५ छ । उनीहरु मध्ये १८ हजार ९ सय ८१ सग अनुदान लिन सम्झौता समेत गरिसकिएको छ । ओखलढुङ्गामा करिब १६ हजारको सख्यामा वास्तविक पीडित भएको र अरु नक्कली पीडित रहेको अनुमान छ । नक्कली भूकम्पपीडितबाट पहिलो किस्ताको ५० हजार फिर्ता गराउने उपाय खोजी भइरहेको पनि प्राधिकरणले बताएको छ ।

जो वास्तविक पीडित हुन् र अन्यत्र घर छैन उनीहरुले जसरी पनि आफ्नो बासको व्यवस्था गरिसके । अनुदान रकम खाने नियत बोकेका नक्कली पीडितहरुले हिजो भूकम्प लगत्तै पनि रातारात अंशबण्डा गर्नेदेखि हुँदै नभएको घर भत्केको देखाएर राहत खाने काम पनि गरेकै हुन् । अहिले पनि घर नबनाई दोस्रो किस्ता खान सल्बलाउँदैछन् ।

ओखलढुङ्गावाट निर्वाचित बनेका प्रदेश नं. १ का सदस्य मोहन कुमार खड्का हिमशिखरले गाउमा दक्ष कर्मीको अभावका कारण बास्तविक भुकम्प पिडितहरुले अहिले सम्म घर बनाउन नसकेको बताउनुभयो । खड्काका अनुसार गाउमा युवा जनशक्ति छैन । बैदेशिक रोजगारको शिलशिलामा बाहिर छ । गाउमा बृद्धबृद्धा बाबुआमाहरु छन् । आफै काम गर्न सक्दैनन् । गाउका कर्मीले भ्याएका छैनन । उनीहरुको बारेमा राज्यले पनि केही सोच्नुपर्छ । वास्तविक पिडितहरुले घर निर्माणगर्ने समय थप हुनुपर्छ । प्रदेश सरकार र केन्द्र सरकार निर्माण भएपछि यसवारेमा कुरा उठाउनेछौं । त्यसको मतलब गलत व्यक्तिले अनुदान लिएको भएपनि छुट दिनुपर्छ भन्ने चाही हैन, खड्काले भन्नुभयो ।

पुननिर्माण प्राधिकरणले अनुदान लिएर घर नबनाउने लाभग्राहीबाट रकम फिर्ता गराइने बताए । प्राधिकरणका अनुसार घर नबनाएकाहरुले आफैं रकम फिर्ता गर्नु बुद्धिमानी हुनेछ । नत्र सरकारी बाँकी सरह जसरी पनि असूल गरिन्छ ।

प्राधिकरणका अनुसार घर नबनाई राज्यको अनुदान पचाउन कसैले सोचेको छ भने उसले पछुताउनुपर्छ । केहीले फिर्ता गर्न थालेका छन् । जसको घर काठमाडौं वा अन्यत्र पनि छ उनीहरुले अनुदान लिएको उजुरी परेमा सीडीओ कार्यालयमार्फत कारवाही गर्न पनि पत्राचार गरिसकेका छौं । कार्बाही प्रकृया अघि बढ्छ ।