नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

राष्ट्रियसभा चुनावका लागि दललाई चुनाव चिह्न प्रदान

अाेखलढुङ्गान्युज, माघ ५ काठमाण्डाै ।

राष्ट्रिय सभा निर्वाचनका लागि २१ ओटा राजनितिक दलहरुले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । दर्ता भएका दलहरुलाई निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज निर्वाचन चिह्न प्रदान गरेको छ ।

निर्वाचन आयोगले नेकपा एमालेलाई (सूर्य), नेपाली काँग्रेस (रुख), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई (गोलाकारभित्रको हँसिया हथौडा), संघीय समाजवादी फोरम नेपाल (हातले समातेको मसाल) र राष्ट्रिय जनता पार्टी नेपाललाई छाता निर्वाचन चिह्न प्रदान गरेको छ ।

त्यसैगरि निर्वाचन आयोगले नेपाल संघीय समाजवादी पार्टीलाई (बस), नेपाल मजदूर किसान पार्टीलाई (मादल), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई (दापसहितको खुकुरी), बहुजन शक्ति पार्टीलाई (जग), नेपाल परिवार दललाई (साँचो), राष्ट्रिय जनमोर्चालाई (गिलास) र नेपाल नौलो जनवादी पार्टीलाई (चुच्चोले चिट्ठी बोकेको परेवा) चिह्न दिइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकलाई (गोलाकारभित्र हलो) विवेकशील साझा पार्टीलाई (तराजु), नयाँ शक्ति पार्टी नेपाललाई (देब्रे आँखा), नेपाल दलित पार्टीलाई (इनार) राष्ट्रिय प्रजातन्त्र पार्टीलाई (गाई), बहुजन समाज पार्टी नेपाललाई (जिराफ), गान्धीवादी पार्टी नेपाललाई (भेडा), नेपाली जनता दललाई (गोरुगाडाको चक्का पाङग्रो) र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका उम्मेदवारलाई (षटकोण) चुनाव चिह्न प्रदान गरिएको छ ।

निर्वाचन आयोगले आज प्रदान गरेको चुनाव चिन्हवाट दलका उमेदवारहरुले राष्ट्रिय सभा सदस्य पदमा प्रतिस्पर्धा गर्ने निर्वाचन आयोगको सूचनामा उल्लेख गरिएको छ । राष्ट्रियसभा सदस्य पदका लागि यही माघ २४ गते निर्वाचन हुँदैछ । निर्वाचनमा देशैभरवाट २०५६ जना मतदाताले भाग लिनेछन् । राष्ट्रियसभा सदस्यमा प्रत्येक प्रदेशबाट आठजना संख्यामा सदस्यको छनौट हुनेछ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरु मतदाता हुने व्यवस्था रहेको छ । राष्ट्रियसभा संघीय संसद्को माथिल्लो सदन हो । यस सभामा कूल ५९ सदस्यीय रहने व्यबस्था छ । प्रत्यक्ष निर्वाचित ५६ र  सरकारको सिफारिशमा तीनजना सदस्यहरुको भने राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था रहेको छ ।