नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

नेकपा माओवादीका मन्त्रीहरुले आज राजीनामा दिने

ओखलढुङ्गान्युज, पौष २८ काठमाडौं ।
लामो समय देखी सरकारमा विना विभागिय मन्त्रीको जिम्मा सम्हाल्दै आएका नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले आज सामुहिक राजिनामा दिने भएका छन् । माओवादी केन्द्रका मन्त्रीहरुले आज अर्थात् शुक्रबार सामूहिक राजीनामा दिने भएका हुन् ।

निर्वाचन आयोगले प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनको घोषणा गरेपछि देउवा सरकारले माओवादी केन्द्रका नेताहरुलाई दिईएको मन्त्रीपदलाई आफुले लिदै विनाविभागिय बनाईदिएका थिए । स्थानीय तहको निर्वाचनमा माओवादीले कांग्रेससग तालमेल गरेपनि प्रतिनिधी तथा प्रदेशसभाका निर्वाचनमा कांग्रेसलाई धोका दिदै एमालेसग मिलेर चुनावमा सहभागी भएको भन्दै उनीहरुको जिम्मेवारी खोसिएर विनाबिभागिय बनाईएको थियो । विनाविभागीयको हैसियतमा रहेका माओवादी केन्द्रका ९ मन्त्री र ७ जना राज्यमन्त्रीले आज राजीनामा दिने तयारी गरेका हुन् ।

बिहीबार नै राजीनामा दिने बताइएको भए पनि सार्वजनिक बिदा भएकाले शुक्रबारका लागि सारिएको हो । माओवादी केन्द्रकाका सबै मन्त्रीको राजीनामा कृष्णबहादुर महराले प्रधानमन्त्रीसमक्ष बुझाउने तयारी छ । पार्टी केन्द्रको निर्णय अनुसार नै माओवादी केन्द्रका मन्त्रिहरुले राजिनामा गर्न लागेको माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् सांसद मोहन कुमार खड्काले जानकारी दिनुभयो ।

सरकारले चुनाव नगर्ला कि भन्ने शंका रहेर विना विभागीय हुँदाहुँदै पनि माओवादी मन्त्रीहरु सरकारमा नै बसिरहने निर्णय गरेको थियो । तर चुनाव सम्पन्न भएर नयाँ सरकार बन्ने समय आएकाले राजनीनामा दिने तयारी भएको मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रले प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावको लागि एमालेसँग गठबन्धन गर्ने घोषणा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले असोज ३१ गते माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय बनाएका थिए ।