नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गाका प्रतिनिधीसभाका उमेद्वारहरुको खर्च कतिहोला ? २५ लाख, ५० लाख कि करोड ?

अझै बुझाएनन् सबै उमेद्वारहरुले चुनावी खर्च

विएन श्रेष्ठ, पौष २५, ओखलढुङ्गा ।
ओखलढुङ्गाबाट प्रतिनिधीसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा उमेदवार बनेकाहरुको चुनाब खर्च कति गरे होलान् रु सबैको चासोको विषय बनेको छ । निर्वाचन आयोगले दिएको म्याद भित्र नै चुनाव खर्च सार्बजनिक गर्न उमेदवारहरु तयार देखिएनन् ।

हाल सम्म ओखलढुङ्गामा निर्वाचित भएका र पराजय बेहोरेको गरि १० जना उम्मेद्वारले चुनावी खर्च विवरण पेश गरेका छन् । गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले चुनावी खर्च विवरण पेश गरेका हुन् ।

उम्मेद्वारहरुले निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमा भित्रै रहेर बिबरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ । आयोगले निर्धारण गरे अनुसार प्रतिनिधिसभाका उम्मेदवारलाई अधिकतम २५ लाख र प्रदेशसभाका उम्मेदवारलाई अधिकतम १५ लाख खर्च गर्न पाउने सीमा तोकिएको थियो ।

निर्वाचनको समयमा उमेदवारहरुले गरेको खर्चका विषयमा चर्चापरिचर्चा गरिरहनेहरुका लागि दातमा ढुङ्गो लाग्ने गरि उमेदवारहरुले खर्च विवरण पेश गरेका छन् । उनीहरुले पेश गरेको खर्चको विवरण सुनेपछि नागरिकहरु अचम्ममा परेका छन् । नागरिकहरुले गरेको अनुमान र उमेदवारहरुले गरेको खर्चको विवरण पेश धेरै बीच धेरै अन्तर रहेको छ ।

निर्वाचन कार्यालयमा पेश गरेको खर्च विवरण अनुसार वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेकपा एमालेका यज्ञराज सुनुवारले २४ लाख ५० हजार खर्च गरेको पाइएको छ । वाम गठबन्धनबाटै प्रदेशसभा क मा उम्मेदवार बनेका नेकपा एमालेका अम्बिरबाबु गुरुङ्गले १४ लाख ५० हजार खर्च भएको विवरण पेश गरेका छन् । यस्तै प्रदेशसभा ख बाट उम्मेदवार बनेका नेकपा माओबादी केन्द्रका मोहन कुमार खड्का हिमशिखरले १४ लाख खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिनिधी तथा प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । यस्तै प्रतिनिधी सभा तर्फ नेपाली काँग्रेसका उम्मेदवार रामहरि खतिवडाले १७ लाख ३० हजार, प्रदेश सभा क्षेत्र नं।१ क का उम्मेदवार मित्रसेन दहालले ९ लाख ४८ हजार र प्रदेश सभा क्षेत्र नं। १ ख का उम्मेदवार प्रदिप सुनुवारले ९ लाख ४८ हजार रुपैयाको खर्च बिबरण पेस गरेका छन् ।

संघिय समाजवादी फोरम नेपालबाट प्रतिनिधी सभा सदस्यमा उम्मेदवार बनेका जुद्ध बहादुर राई ढाक्रेले ६ लाख ३७ हजार, प्रदेशभा १ क का उम्मेदवार नेत्र बहादुर नेम्वाङले ४ लाख ३२ हजार रुपैयाको खर्च बिबरण पेस गरेका छन् । मङ्गोल नेश्नल अर्गनाईजेसनका प्रतिनिधिसभाका उम्मेदवार बजेन्द्र राईले ७३ हजार, प्रदेशसभा क १ का कानुरी शेर्पाले ५० हजार ५ सय ३० रुपैयाको खर्च बिबरण पेस गरेका छन् ।

ओखलढुंगामा प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनमा उम्मद्वार बनेका एक स्वतन्त्र सहित १२ उम्मेदवारले निर्वाचनमा खर्च बुझाउन अझैसम्म बाकी रहेको छ ।

प्रतिनिधीसभा सदस्य पदमा निर्वाचित भएका एमालेका यज्ञराज सुनुवार र सोही पदमा पराजय बेहोेरेका नेपाली कांग्रेसका रामहरि खतिवडा ओखलढुङ्गाका पूर्व सांसदहरु पनि हुन् । उनीहरुले निर्वाचनमा करोडौ खर्च गरेको स्थानीय नागरिकहरुको अनुमान थियो ।