नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गाको गाउँपालिकामा विद्युतीय हाजिर

ओखलढुङ्गान्यूज, पौष २२, ओखलढुङ्गा ।
स्थानीय तहको संरचना निर्माण भएसगै ओखलढुङ्गाका गाँउपालिकाहरुले आ–आफ्नो सापेक्षतामा विभिन्न निर्णहरु गर्न थालेका छन् । यसै अनुरुप ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले पनि विद्युतीय हाजिर प्रणाली लागु गर्ने भएको छ । गाँउपालिकामा रहेका विभिन्न कार्यालयका कर्मचारीको काम चोर प्रवृति अन्त्य गर्ने उद्धेश्यले गाँउपालिकाले विद्युतीय हाजिरी लागु गर्ने तयारी गरेको हो ।

चिशंखुगढी गाँउपालिका भित्र रहेर सञ्चालन भएका सबै विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयहरुमा विद्युतीय हाजिर मेशिन राख्ने तयारी भएको छ । त्यस्तै गाउँपालिकाका कर्मचारीहरुलाई पनि विद्युतीय हाजिरी अनिवार्य गर्नुपर्ने गाउँकार्यपालिकाले निर्णय गरेको चिशंखुगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास पौडेलले जानकारी दिनुभयो ।

गाँउपालिकाका सबै आवश्यक ठाउँहरुमा विद्युतीय हाजिर मेसिन जडानको प्रक्रिया सुरु भईसकेको जनाईएको छ । विद्युतीय हाजिर मेशीनका लागि आवश्यक पर्ने विद्युतीय उर्जाका लागि पनि व्यबस्थापन गर्न लागिएको छ । गाँउपालिकाका कतिपय स्थानका कार्यालयहरुमा विद्युत नहुदा मेशीन जडान गर्न समस्या हुने देखिएपछि उक्त तयारी पनि थालिएको हो ।

गाँउपालिका भित्रका कर्मचारीलाई तलब समेत विद्युतीय हाजिरलाई नै आधार मानेर निकासा गरिने पालिका अध्यक्ष निशान्त शर्माले बताउनुभयो । यो अभ्यासले कर्मचारीहरुलाई आफ्नो काम प्रति जिम्मेवार बनाउने र समयमा कार्यालयमा उपस्थित नहुने गुनासोको समेत अन्त्य हुने अध्यक्ष शर्माको भनाई छ । ओखलढुंगामा पछिल्लो समय विद्युतीय हाजिर मेसिनको प्रयोग बढ्दै गएको छ ।