नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

फलो अप : गाँउपालिका अध्यक्षले कुटेका घाईतेलाई काठमाण्डौ पठाईयो

ओखलढुङ्गान्युज, पौष १७, चम्पादेवी ।
गाँउपालिकाको अध्यक्षको कुटाईवाट घाईते भएका प्राविधिक सहायक मिन बहादुर कार्कीलाई थप उपचारको लागि काठमाण्डौ पठाईएको छ । उनलाई गत विहिबार राती चम्पादेवी गाँउपालिकाका अध्यक्ष नवराज केसीले कुटपिट गरि घाईते बनाएका थिए ।

गाँउपालिकाका प्राविधिक सहायक कार्कीलाई कुटपिट गरेपछि कार्कीले अरु कोही सग सम्पर्क नगरोस भन्दै मोवाई समेत अध्यक्ष केसीले नै लगेको कार्कीको आरोप छ । घटनाको बारेमा बुझ्न चम्पादेवी गाँउपालिकाका अध्यक्ष नवराज केसीलाई ओखलढुङ्गान्युज प्रतिनिधीले फोन गर्दा सामान्य विवाद भएको स्विकार गर्दै गाँउपालिकाका कार्यकारीसग बसेर कुरा मिलाई सकेको बताएका थिए । तर कर्मचारी कार्कीलाई कुटपिट गरेको विषयलाई भने अस्विकार गरेका थिए ।

गाँउपालिका प्रमुख केसीको कुटाईवाट घाईते भएका कर्मचारी कार्कीले भने विना कारण आफुमाथि कुटपिट भएको बताएका छन् । गाँउपालिकाको केही वडाहरुमा भएको विकास निर्माणको योजना फरफारक गर्न काम नभएका योजनाको पनि सम्पन्न स्टामेट पास गर्न दबाब दिएको कार्कीले बताएका छन् । तर काम नभएको योजनाको सम्पन्न लागत स्टामेट गर्दिन भनेपछि गाउपालिका प्रमुख केसीले आफुमाथी कुटपिट गरेको कार्कीले आरोप लगाएका छन् ।

घटना भएपछि नजिकैको प्रहरी कार्यालय प्रहरीचौकी पलापुलाई जानकारी गराई सुरक्षा चाहियो भन्दा आईतवार सम्म पनि नजिकको प्रहरीचौकी पलापुले वेवास्ता गरेको कार्कीको आरोप छ । कार्की थप उपचारका लागि भन्दै रगतले लतपतिएको कपडा सहित काठमाण्डौ लागेका छन् । उनको अनुहारभरी चोट छ भने कुटपिटका कारण अनुहार पनि सुन्निएको छ ।

जिल्ला प्रहरी तथा जिल्ला प्रशासनमा उजुरी दिन आफु आउन नसकेकोले काठमाण्डौमा उपचार गरेर आएपछि उजुरी दिने घाईते कार्कीले बताएका छन् । जानकारीहोस भन्ने उद्देश्यले कार्कीले आईतवार नै प्रहरीचौकी घोराखोरमिा उजुरी दर्ता गराएका छन् ।

घाईते कार्कीले भने, “म अहिले नै ओखलढुङ्गा आउन नसक्ने अबस्थामा छु । मेरो मोवाईल पनि कब्जा गरिएको छ । स्थानीय स्वास्थ्य संस्थामा नै उपचार गर्दा असुरक्षित महशुस भएको छ । प्रहरीले पनि वेवास्ता गर्यो । काठमाण्डौमा उपचार गरेर फर्किए पछि उजुरी दिन्छु ।”

प्रहरीचौकी घोराखोरीका प्रमुख हरिनारायण यादवले विहिवार भएको भनिएको घटनाको बारेमा घटनाका पिडित मिन बहादुर कार्कीले उजुरी दर्ता गराएको जानकारी दिएका छन् । उनले भने, “कार्कीले उजुरी दर्ता गराउनुभएको छ । घटनाको बारेमा यही छलफलको प्रयास हुन्छ । यहाँ छलफल हुन नसके वा विवाद नमिले मुद्दा अगाडी बढाएर रामपुर पठाउछु ।”