नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

बस पल्टीदा वडासदस्यको ज्यान गयो

ओखलढुङ्गान्युज, पौष ८, पोखरा ।
कास्कीको मादीस्थित भाचोकमा बस दुर्घटनामा परेको छ । बस दुर्घटना हुदा एकजना वडा सदस्यको ज्यान गएको छ । पोखराबाट भाचोकतर्फ गइरहेको ना ३ ख ७४३६ नम्बरको बस शुक्रबार साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा परि मादी गाउँपालिका वडा नम्बर ९ का दलित महिला सदस्य पदमकुमारी नेपालीको ज्यान गएको हो ।

नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मादी १० भाचोकका २८ वर्षीय बस चालक अमृत भुजेल, ३२ वर्षीय विष्णु गुरुङ, ४३ वर्षीय गंगा गुरुङ, १९ वर्षीया तारा नेपाली, १४ वर्षीय समीर नेपाली, ३० वर्षीया ज्योति गुरुङ, २२ वर्षीया छाया नेपाली र १२ वर्षीय सरोज नेपाली छन् ।

बस सडकबाट करीब एक सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको छ । सडकको डिल भत्केर गाडी पल्टिएको स्थानीयले बताएका छन् । घाइतेहरुलाई राती नै उद्धार गरेर पोखराका मनिपाल, फिस्टेल, पश्चिमाञ्चललगायतका अस्पतालहरुमा उपचार गर्न लगिएको थियो ।