नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

मौन अवधि सुरु, आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज हुने आयोगको चेतावनी

ओखलढुङ्गान्युज मंसिर १९, काठमाण्डौं ।

आज गएराती देखी दोश्रो चरणको चुनाव हुने जिल्लाहरुमा मौन अबधि सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दोस्रो चरणका लागि दल र उम्मेदवारले प्रचार तथा भोट माग्ने काम आज मंगलबारदेखि गर्न पाउने छैनन् । मतदान हुनु ४८ घण्टापूर्व नै मौन अवधि सुरु हुने भएकाले कुनै प्रकारको प्रचारप्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको हो ।

निर्वाचन आयोगले मौन अवधिमा प्रचार तथा आचारसंहित विपरीतका काम गरेको भेटिएमा उम्मेदवारी खारेज हुन सक्ने समेत चेतावनी दिएको छ । प्रत्यक्ष प्रचार गर्न नपाए पनि यस अवधिमा राजनीतिक दल तथा उम्मेदवारले अनौपचारिक भेटघाट, घरदैलो, भोजभतेर तथा आर्थिक चलखेललगायत क्रियाकलाप गरी मतदाता प्रभावित पार्ने काम गरेको पाइन्छ ।

राजनीतिक दल वा उम्मेदवारले मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखेका प्रचार सामग्रीसमेत हटाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ । सामाजिक सञ्जालबाट समेत मौन अवधिमा भोट माग्न, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार गर्न, सञ्चार माध्यमले पनि मौन अवधिमा राजनीतिक दलको प्रचार हुने गरी समाचार प्रकाशन वा प्रसारण गर्न नहुने भन्दै यी कुराहरुमा पूर्णरुपमा रोक लगाएको छ ।

यसअघि पहिलो चरणको मौन अवधिमा सामाजिक सञ्जालमार्फत प्रचार गरेको आरोपमा आयोगले केही नेतासँग स्पष्टीकरण सोधेको थियो । सगै सामाजिक सञ्जालहरुवाट व्यक्तिहरुले गर्ने यस्ता निर्वाचन आचारसंहिता विपरितका कार्यहरुमा रोक लगाएको छ ।