नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

बैंकमा चोरी गर्न २५ फुट लामो सुरुङ

कात्तिक ३०, मुम्बई ।
२५ फुट लामो सुरुङ खनेर बैंकमा चोरी, बैंकभित्र पुग्न चार महिना लगाएर सुरुङ खनियो, सुन्दा र पढ्दा अचम्म लाग्नसक्छ । तर यो वास्तविकता हो भारत मुम्बईको ।

मुम्बईको बैंक अफ बडौदामा चोरहरुले चार महिना लगाएर २५ फुट लामो सुरुङ खने र शनिबार नगद तथा गरगहाना चोरेर फरार भए । प्रहरीका अनुसार चोरहरुले बैंक अफ बडौदा नजिकै एक ठाउँ भाडामा लिएका थिए र त्यहीँबाट सुरुङ खने ।

जाँच एजेन्सीका अधिकारीहरु भन्छन् , चोरहरुले भाडामा लिएको ठाउँमा किराना पसल खोलेका थिए जुन देखाउनका लागि मात्रै थियो । २५ फुट लामो सुरुङ बैंक लकर भएको कोठामा पुगेर अन्त्य भएको छ जहाँ ३० वटा लकर खुल्लै देखिन्छ ।

आश्चर्यको कुरा त के छ भने चोरहरुले कसैले पनि थाहा नपाउने गरी चार-चार महिनासम्म सुरुङ खन्न कसरी सफल भए होलान् ? र, उनीहरुप्रति कसैको शंका पनि भएन । बैंकका कर्मचारीहरुले सोमबार बिहान बैंक खोल्दा मात्रै चोरी भएको थाहा पाएका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।

सो बैंकमा खाता र लकर खोलेका व्यक्तिहरुलाई मिडियाहरुले कुराकानी पनि गरेका छन् । डाग्डु गवानीले अंग्रेजी अखबार मुम्बई मिररसँग भनेका छन्, ‘जिन्दगी भरको मेरो कमाइ बैंकको लकरमा थियो । पुस्तौंदेखि मेरो परिवारमा रहेका गरगहनाहरु थिए । सबै चोरी भयो ।

२२५ थान डिपोजिट बाकसहरुमध्ये चोरहरुले ३० वटा चोरेका प्रहरीले जनाएको छ । यद्यपि चोरी भएको हिसाब किताब सार्वजनिक भइसकेको छैन । चोरहरुको बारेमा पनि अझै पत्ता लागेको छैन ।

चोरी भएको बैंकको शाखा

 

 

 

 

 

श्राेत : अनलाइनखबर