नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

ओखलढुङ्गाको चुनावी प्रचारमा गिति प्रतिस्पर्धा

ओखलढुङ्गान्युज डटकम, कात्तिक २८ ओखलढुङ्गा

 
प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन क्रमशः नजिकिए सगै राजनितीक दलहरुले आआफ्नो चुनावी प्रचारप्रसारलाई तित्र्रता दिइएका छन् । चुनावी प्रचारप्रसारको क्रममा गीत मार्फत पनि भोटमाग्नेहरुमा बामगठबन्धन र प्रजातान्त्रिक गठबन्धन मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् ।

गिति प्रतिस्पर्धामा बद्रि पंगेनीको स्वरमा रेकर्डेड भएको गीत ‘एमालेले नै फाल्दिन्छ समाजको यो मैलो, जनताको छोरो यज्ञराज सुनुवार जनताकै घरदैलो’ ०७० सालको संविधानसभा चुनावमा ओखलढुङ्गामा खुब लोकप्रिय भयो । एमालेबाट त्यतिखेर उम्मेद्वार बनेका यज्ञराज सुनुवारको चुनावी सभादेखि घरघरमा यो गीत बज्यो । कतिसम्म भने एमाले बाहेकका दलका कार्यकर्ताको मुखमा पनि यो गीत झुन्डियो । सुनुवारले त्यतिखेर चुनाव पनि जिते ।


सोही संविधानसभामा अर्को निर्वाचन क्षेत्रबाट उम्मेद्वार बनेका रामहरि खतिवडाको पनि चुनावी गीत तयार थियो । पूर्वेली लोकलयमा आधारित गीत थियो, ‘भोट कसलाई दिने भन्दैछन् गाउका ठुलाबडा, जनताको साथी घरदैलोमा रामहरि खतिवडा ।’

संयोग मान्नुपर्छ दुवै क्षेत्रका उम्मेद्वारले त्यतिखेर चुनाव जिते । अर्को संयोग भन्नुपर्ला त्यतिखेर उनीहरुका प्रतिस्पर्धीले आफ्नो नाममा कुनै गीत बनाएका थिएनन् । पार्टी केन्द्रले पार्टीको गीत बनाउने चलन अलि पुरानै हो । तर यहा उम्मेद्वारकै नाम जोडेर गीत बनाई प्रचार गर्ने चलनको शुरुवात ०७० को चुनावदेखि शुरु भएको थियो ।

आगामी चुनावमा होमिएका अधिकांश उम्मेद्वारले चुनावी गीत बनाएका छन् । बाटो, घर र चुनावी सभासम्म मतदाताले आफ्ना उम्मेद्वारको गीत बजाएर प्रचार गरिरहेका छन् । झट्ट सुन्दा गीतकै माध्यमबाट प्रचार गर्ने प्रतिस्पर्धा भईरहेझै महशुस भएको स्थानीयको भनाई छ ।

‘संगीतले केटाकेटीदेखि बुढाबुढी सम्म सबैलाई छुन्छ । पार्टीको नारा कण्ठ गराउनु भन्दा राम्रो माध्यम यही हो ।’ वाम गठबन्धनका उम्मेद्वार यज्ञराज सुनुवारले भने, ‘त्यसैले गीतको माध्यम रोजिएको हो ।’

पार्टीका उम्मेद्वार मात्र नभएर कांग्रेसबाट बागी उम्मेद्वार बनेका ज्ञानेन्द्र रुम्दालीको प्रचारका लागि समेत गीत बनेको छ । ‘ए लैलै ज्ञानेन्द्र रुम्दालीलाई, ज्ञानेन्द्र रुम्दालीलाई, ए लैलै भ¥याङ चिन्हमा भोट हालौ सबले ज्ञानेन्द्र रुम्दालीलाई’ यो गीतले पनि अहिले बजार तताएको छ ।

प्रचारका लागि बनाईएको गीत अधिकांश व्यवसायिक कलाकारहरुले गाउने गरेका छन् । ‘प्रचारका लागि अनुरोध गरिएको गीतको पैसा लिएरै गाईएको छ ।’ गायक लिला श्रेष्ठले भने, ‘आफ्नो कला श्रोतामाझ पु¥याउने अवसर पनि बनेको छ ।’

मंसिर १० को चुनावका लागि पनि अघिल्लो चुनावमा झैं गीतहरु गुन्जिन थालेका छन् । फेरी पनि यज्ञराज सुनुवारको नाममा बनेको गीत बद्रि पंगेनीले गाएका छन् । ‘अघि बढ यज्ञ दाई जनता साथमा छ, ओखलढुङ्गा बनाउने तिम्रै हातमा छ ।’ वाम गठबन्धनकै तर्फबाट निर्वाचन क्षेत्र ‘ख’ का उम्मेद्वार मोहन खड्काका लागि पनि गीत बनेको छ, ‘आयो आयो माओवादी आयो, जनता ढाट्ने फटाहा छेउ लायो ।’

त्यस्तै गरि लोकगायकको रुपमा आफुलाई स्थापीत गराउने क्रममा रहेका गायक रमेश गिरीले ओखलढुङ्गा निर्वाचन क्षेत्र नं. १ ख का लागि गाएको गित ‘यज्ञ सुनुवार हाईहाई, रामहरि दाई बाईबाई, पर्यटक हुन प्रदिप सुनुवार जिताउ हिमशिखरलाई’ भनेर गाएको गित पनि बजारमा आएको छ । यो रेकर्डिङ भैसकेको गितभने हैन ।

प्रतिस्पर्धी दलहरुको चुनावी गीत पालैपालो सुन्ने हो भने दोहोरी सुनेझै लाग्छ । वाम गठबन्धनको गीतलाई दोहोरी फर्काएझै लोकतान्त्रिक गठबन्धनको चुनावी गीतले भन्छ, ‘ओखलढुङ्गा सहिदको जिल्ला हो, वर्षौ देखि कांग्रेसको किल्ला हो । कांग्रेसले नै गर्छ है विकास, अनि पाउछ देशले निकास ।’

गिति प्रतिस्पर्धा मार्फत भै रहेको चुनावी प्रचार प्रसारले ओखलढुङ्गालाई बामगठबन्धनको किल्ला बनाउछ या कांग्रेसको किल्ला त्यो भने मंशिर १० लाई कुर्नै पर्छ । कांग्रेस प्रतिनिधी सभाका उमेद्वार रामहरि खतिवडाले आगामी चुनावमा ओखलढुङ्गावाट बामगठबन्धन सकिने घोषणा गरेका छन् भने बामगठबन्धनका उमेद्वार यज्ञराज सुनुवारले आगामी मंशिर १० गते चुनाव अगाडी नै बाम गठबन्धन विजयी भैसकेको र घोषणा हुन मात्र बाकी रहेको बताएका छन् ।

यस अगाडी कांग्रेसले निरन्तर आफ्नो आधारको रुपमा मानेको ओखलढुङ्गालाई २०६४ को चुनावमा जिल्लाका दुवै क्षेत्रमा माओवादीले विजयी हासिल गरेको थियो । २०७० को चुनावमा भने दुई क्षेत्र मध्ये निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका यज्ञराज सुनुवार र निर्वाचन क्षेत्र नं. २ मा कांग्रेसवाट रामहरि खतिवडाले विजयी हासिल गरेका थिए ।