नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

वेहोस भेटिएका सेनाको जवानको मृत्यु

ओखलढुङ्गान्युज डटकम कात्तिक २६ महोत्तरी
महोत्तरीको एक जंगलमा फेला परेका नेपाली सेनाका एक जवानको शनिबार मृत्यु भएको छ । बुधवार बेलुका उनलाई अर्धचेत अवस्थामा फेला पारिएको थियो ।

महोत्तरीको गौशाला नगरपालिका— ८ भन्टाबारी घर भएका २१ वर्षीय विजय महतोको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । नेपाली सेनाको छाउनीस्थित अस्पतालमा मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिए । गौशाला–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा महतो बेहोस अवस्थामा भेटिएका थिए । सर्लाही जिल्लाको नवलपुरस्थित पाँचकुमारी नेपाली सेना ब्यारेकमा कार्यरत जवान बेहोस अवस्थामा फेला परेका थिए ।

मृतक जवानको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले बताए । केही बोल्न नसक्ने गरी बेहोस भएका जवान महतोलाई प्रहरीले बर्दिबासस्थित जनसेवा अस्पतालमा प्राथमिक उपचार गराईएको थियो । महतोको थप उपचारका लागि काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा पठाएको थियो । शुक्रबार आफू कार्यरत ब्यारेकबाट दुई दिनको छुट्टीमा घर आएका जवान महतो आइतबार बिहान खाना खाएर ब्यारेक फर्किएका थिए । तर मंगलबार उनी कार्यरत ब्यारेकबाट जवान महतो घरबाट फिर्ता नआएको भन्दै परिवारजनलाई खबर आएको थियो ।

परिवारजनले मंगलबार बेलुका नै इलाका प्रहरी कार्यालय गौशालामा हिँडिसकेको खबर गरेपछि मंगलबार रातिदेखि जवान महतोको खोजीमा परिवारजन, छिमेकी र प्रहरीसहितको टोली जंगलमा खोज्न गएका थिए । तर प्रहरीसहितको टोलीले बुधबार अबेर बेलुका मात्रै जवान महतोलाई गौशाला–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको एक खोल्साको बालुवामा भासिएर बेहोस अवस्थामा फेला पारिएको थियो। सैनिक जवान महतोको कसैले कुटपिट गरी हत्या गर्ने प्रयास गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। प्रमाणहरु जुटाएर घटनाबारे अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जनाएको छ।