नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

म हुँ बालकृष्ण

 

                                                                                                                                           ——– सन्तोष दंगाल

 


म अब लागेँ जेल
मेरो अपराध हो
गणतन्त्र
म हूँ बालकृष्ण ढुंगेल ।

दलनको सन्दुकबाट झिकेर
मैले बोकेको बन्दुक र
भोकको झोलीबाट झिकेर
मैले बोकेको गोली
राजदरवारमा निदाएका कानहरुले
सुन्ने एक मात्र बन्यो बोली
हो त्यही हो
मेरो अपराध ।

मलाई जनताको मञ्चमा
पञ्चहरु बसेको
मन परेको थिएन,
लाग्थ्यो दूधको रखवाली
बिरालो गरिरहेछ
र चलाएँ मैले पञ्चहरुको सातो जाने
जनताको अदालत
हो त्यही हो
मेरो अपराध ।

मलाई मालिकको सालिक मुनी
हलीको बली
मन परेको थिएन
सोच्थेँ कागजको गुलामी
आगो गरिरहेछ
र चलाएँ मैले मालिकको सातो जाने
जनताको सरकार
हो त्यही हो
मेरो अपराध ।

मैले प्रतिकार गरेँ
विद्रोह गरेँ
सहिन मजदुरको अपमान
मानिन सिंहदरवारको फर्मान
मैले गरीबको गरीबसँग
मीत लगाइदिएँ
मैले खेत र खलिहानको
गीत गाइदिएँ

मैले कमजोरको घाउमा
लगाइदिएँ मल्हम
मैले बन्दुकको नालमा
राखिदिएँ कलम
हो त्यही हो
मेरो अपराध ।

ल अब लागेँ जेल
मेरो अपराध हो
गणतन्त्र
म हूँ बालकृष्ण ढुंगेल ।