नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

यमपञ्चकको दोश्रो दिन आज कुकुर तिहार

ओखलढुङ्गान्युज डटकम कार्तिक १, ओखलढुङ्गा ।

हिन्दुहरुको महान् चाड तिहारको दोश्रो दिन आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिदैछ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कार्तिक कृष्ण पक्षको चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरको पुजा गरी विशेष प्रकारका खानेकुरा खान दिने चलन छ ।

 कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एक जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता समेत लगाउदछ । कुकुरलाई भैरवको बहान पनि भनिन्छ । त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको सुरक्षा निकायको भनाइ छ । कुकुर इमान्दार र वफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ ।

 कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन् । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ । आजका दिन मासको पात खाने चलन छ । लिङ्ग पुराणअनुसार यस दिन मासको पातको साग खानाले मानिसको सबै पाप नास हुन्छन् भन्ने जनश्रुति पाइन्छ ।

 आजका दिन पाप नास गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन छ । यसो गर्दा स्वर्ग गइन्छ भन्ने विश्वास छ । तिहारको लक्ष्मी पूजा, गोवर्द्धन पूजा र भाइटीका समेत गरी तीन दिन नेपाल सरकारले सरकारी विदासमेत दिने गरेको छ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ ।