नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

सुरु भयाे तिहार, यमपञ्चकको पहिलो दिन आज काग तिहार

ओखढुङ्गान्युज डटकम,  असोज ३१ ओखलढुङ्गा

हिन्दुहरुको महान् दोश्रो ठुलो चाड तिहार आजवाट घरघरमा भित्रीएको छ । तिहार अन्तर्गत यमपञ्चकको पहिलो दिन आज कागलाई मीठो मीठो खाना चढाएर काग तिहार मनाइँदैछ । वैद्धिक सनातन हिन्दू धर्मअनुसार कागलाई यमदूतको प्रतिकको रुपमा मानिन्छ ।

वैदिक मान्यतानुसार कागलाई सन्देशवाहक (हुलाकी)को रुपमा पनि मानिदै आएको छ । आजको दिन कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता रहिआएकोछ । आजैका दिनदेखि यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यमदीप दक्षिण तर्फ फर्काएर दान गर्नुपर्ने धार्मिक विधि छ ।

भगवान विष्णु बलि राजाको दानशीलतादेखि प्रभावित भई उनलाई वर्षमा पाँच दिन अर्थात कार्तिक कृष्णपक्षको त्रयोदशी तिथी देखि कार्तिक शुक्ल पक्षको द्वतीया तिथी सम्म पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास रहिआएको छ । सो समयमा बलि राजाको पूजा गरेमा विष्णुले आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पूजा गर्ने गरिएको धर्मशास्त्रविद् प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो ।

तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक १ गते बुधबार कुकुर तिहार, कात्तिक २ गते बिहीबार औंसीका दिन लक्ष्मीपूजा, कात्तिक ३ गते शुक्रबार गाईपूजा, गोवर्धन पूजा, कृषक पूजा तथा र म्हपूजा अर्थात् आत्मपूजा एवम् कात्तिक ४ गते शनिबार भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।

कार्तिक ३ गतेवाट नै नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३८ को सुरुवात हुन्छ । यस वर्ष कात्तिक ४ गते मध्याह्न ११ बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यमराज पनि पाँच दिन आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।