नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन सुरु, क्रान्तिकारी माओवादी एकतामा जोड

ओखलढुङ्गान्युज डटकम, असोज २३, पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ । राष्ट्रिय सम्मेलन आइतबार बिहान ११ बजे पोखरा बुद्धचोकस्थित कान्तिपुर पार्टी प्यालेसमा सुरु भएको हो । बिहान ८ बजेदेखि केन्द्रीय समितिको छोटो बैठकपछि ११ बजेदेखि उद्घाटन सत्र सुरु भएको सो पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । राष्ट्रिय सम्मेलनमा क्रान्तिकारी माओवादीहरुबीचको एकतामा जोड दिइएको छ ।

आइतबारदेखी पोखरामा सुरु भएको सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले वाम गबन्धन र लोकतान्त्रिक गठबन्धन दुबै दक्षिणपन्थी र प्रतिक्रियावादी गठबन्धन भएको बताउँदै त्यसलाई परास्त पार्न क्रान्तिकारी माओवादीको एकता अपरिहार्य भएको बताउनुभयो । एकतामा ढिलाई गर्न नहुने बताउँदै उहाँले चाँडो भन्दा चाँडो एकता गरिहाल्नुपर्नेमा जोड दिनुभयो । वैद्यले आफ्नो पार्टीको सम्मेलनले क्रान्तिकारीहरुबीच एकता गर्नुपर्ने विषयमा छलफल गरेर आधार तय गर्ने पनि जानकारी दिनुभयो ।

सम्मेलनमा बोल्ने वक्ताहरुले वाम गठबन्धनको नाममा दक्षिणपन्थी र लोकतान्त्रिक गठबन्धनको नाममा प्रतिक्रियावादी गठबन्धन भएकाले उनीहरुलाई चुनौति दिन क्रान्तिकारी माओवादीहरुको गठबन्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

सम्मेलनमा शुभकामना मन्तव्य राख्दै नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले विश्वलाई एउटै नजरले हेर्ने क्रान्तिकारीहरुबीच एकता गर्नु अहिलेको आवश्यक्ता भएको बताए ।

उनले क्रान्तिकारीहरुबीचको एकता जतिसक्दो चाँडो गर्नुपर्नेमा जोड दिए । साथै उनले अब जनयुद्ध गरेर मात्रै नहुने भन्दै साइबर युद्ध पनि गर्नुपर्ने औंल्याए । त्यसका लागि आफ्ना पार्टी तयार रहेको उनले बताए ।

क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले कार्यक्रम सञ्चालन गर्ने क्रममा नेपालमा तेश्रो ध्रुविकरण आवश्यक रहेको बताउँदै त्यसको आधार तय गर्न आफ्नो पार्टीको सम्मेलन भइरहेको बताए । वाम र लोकतान्त्रिक नाममा भइरहेको ध्रुविकरण प्रतिक्रान्तिको दिशामा अघि बढेको बताउदै नेता गजुरेलले २ ध्रुबिकरण अन्य पार्टीलाई निशेध गर्ने उद्धेश्यले आएको भएपनि आफूहरु तेश्रो ध्रुविकरण गरेर वैकल्पिक शक्ति बनेरै छाड्ने उद्घोष गरे ।

५ दिनसम्म पोखरामा चल्ने नेपाल कम्युनिष्ट पार्टीका (क्रान्तिकारी माओवादी)को सम्मेलनले पोखरा घोषणा पत्र जारी गर्नुका साथै नयाँ नेतृत्व पनि चयन गर्ने छ ।