नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

अन्तरजातीय बिहे गराइदिएको आरोपमा शिक्षकको घरमा आगो लगाइयो

ओखलढुङ्गान्युज डटकम,बैतडी असोज १८ ।

अन्तरजातिय बिहे गराईदिएको आरोपमा शिवनाथ गाँउपालिका–६ कनालीका करन रानाको घरमा आगजनी भएको छ । आगजनी गर्ने ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । असोज ५ गते शनिबार राति रानाको घरमा आगजनी भएको थियो । 

गाउँमा आए मारिदिने धम्कीपछि विगत ६ महिनादेखि सदरमुकाममा बस्दै आएका रानाको घरमा आगजनी गरेको आरोपमा स्थानीय राजबहादुर चन्दसहति ६ जनाविरुद्ध ‘आगो लगाउने’ शीर्षकमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको हो ।  तीन वर्षअघि बनाएको एक तलाको २ कोठे भवन जलेर नष्ट भएको र घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको भन्दै ३० लाख ५३ हजार बिगोसमेत माग गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

  पिडीत शिक्षा‍क करण राना

गाउँकै विद्यालयमा करार दरबन्दीमा काम गरिरहेका शिक्षक रानालाई गैरदलित परिवारकी छात्राको बिहे दलित केटासँग गराइदिएको आरोपमा ६ महिनाअघि स्थानीयले गाउँनिकाला समेत गरेका थिए । 

आगजनीका आरोपी राजबहादुर चन्दसहति ६ जनाको नाममा पक्राउ पूर्जी जारी गरिएको प्रहरीले जनाएको छ । घटनाबारे सुक्ष्म अनुसन्धानका लागि प्रहरी घटनास्थल समेत पुगिसको छ भने आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गरिने प्रहरी प्रमुख हेरम्ब शर्माले बताए ।

शिवनाथ गाउँपालिका– ६ का राजबहादुर चन्दसँगै, गोकर्ण चन्द, रमेशबहादुर चन्द, जनकबहादुर चन्द, चक्रबहादुर चन्द र दीपकबहादुर चन्दविरुद्ध मुद्दा परेको छ । गाउँबाट विस्थापित गराउनेदेखि घरमा आगजनी गर्ने घटनामा ६ जनाको संलग्नता रहेको पीडित राना दम्पतीको आरोप छ । 

गैरदलित छात्रालाई दलित केटासँग भाग्न शिक्षक करन रानाकी पत्नी शिक्षिका राजु रानाले सहयोग गरेको स्थानीयको आरोप छ । राजु स्थानीय कृष्ण निमाविमा शिशु कक्षामा पढाउने शिक्षिका हुन् भने उनका पति करन राना हिरापुर मावि कनालिमा निमाविमा राहत कोटामा पढाउँदै आएका छन् । 

गैरदलित समुदायकी छात्रा र दलित समुदायका केटा भागेको एक महिनापछि सम्पर्कमा आएका थिए । छात्राले प्रहरीसमक्ष दलित केटासँग आफुखुशी गएको बयान दिए पनि केटीको उमेर २० वर्ष नपुगेकाले उनलाई परिवारको जिम्मा लगाइएको थियो ।

सोही घटनापछि शिक्षक दम्पती र उनका छोराछोरी विस्थापित भएका हुन् । गैरदलित समुदायले आफुहलाई गाँउमा आए मार्ने धम्की दिनेगरेको पीडित शिक्षिका रानाले गुनासो गरे । ‘गाउँमा आए मारिदिन्छु भनेर धम्की दिए,’ उनले भने, ‘म न्यायको आशमा छोराछोरी र श्रीमती लिएर सदरमुकाममा बसेको छु ।’

शिक्षा नियमावलीअनुसार कुनै अपराधविना शिक्षकलाई निष्कासन गर्न नपाइने भएपनि व्यवस्थापन समितिले भने नियमावलीको अवज्ञा गर्दै शिक्षकलाई निकालेको आरोप छ । गाउँलेहरुले दबाब दिएपछि करन रानालाई निकाल्नु परेको विद्यालयका प्रधानाध्यापक जनक चन्दले बताए । ‘राना दम्पतीलाई गाउँमा बस्नै नदिने भएपछि हामीलाई समेत धम्की आउन थाल्यो’, उनले भने ।

रानामाथि भएको अत्याचारको शीघ्र छानविन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न मानवअधिकारकर्मी र जिल्लाका सञ्चारकर्मीहरुले जोडदार माग गरेका  छन् । मानवअधिकारको घोर उल्लंघन र जातियताका कारण राना दम्पतिमाथि आत्याचार भएको भन्दै मानवअधिकारकर्मी कर्ण दयालले पिडितले शीघ्र न्याय पाउनुपर्ने बताए ।

यस्तै इन्सेक बैतडीको नेतृत्वमा मानवअधिकार रक्षकको टोलीले घटनास्थलको अवलोकन गर्दै मानवअधिकारको गम्भीर उल्लंघन भएको बताएको छ ।