नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सञ्चारकर्मीहरुलाई निर्वाचन आयोगको ध्यानाकर्षण

ओखलढुङ्गान्युज डटकम, काठमाडौं असोज १८,
आउदै गरेको प्रदेश र प्रतिनिधी सभालाई लक्षित गरेर निर्वाचन आयोगले सञ्चारकर्मीहरुलाई निर्वाचन आचारसंहिता पालना गर्न ध्यानाकर्षण गराएको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सञ्चारकर्मीहरुलाई पनि निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह गर्नु भएको हो ।

बुधबार काठमाडौंमा आयोजित ‘आसन्न प्रदेश, प्रतिनिधिसभा निर्वाचन र सञ्चार – मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ लाई सम्बोधन गर्दै उहाँले निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने काममा सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

निर्वाचन आयुक्त दाहालले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई सहज बनाउन पनि सञ्चारकर्मीहरुले उल्लेख्य सहयोग गर्ने बताउनुभयो । उहाँले निर्वाचनका बेला समाचार बनाउँदा जनमत बिग्रन नदिन पनि सञ्चारकर्मीहरु संवेदनशील हुनुपर्ने पनि स्मरण गराउनुभयो ।

निर्वाचन आयुक्त दाहालले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सरोकारवाला सबै निकायको सक्रिय सहयोगको आवश्यकतामा पनि जोड दिनुभयो ।