नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

‘जिते जनसेवा, हारे क्रान्तिको तयारी’

ओखलढुङ्गान्युज डटकम, भदौ २९ महोत्तरी ।
बाढी, कटान र डुवानको समस्याबाट आक्रान्त बनेको तराई मधेशमा अहिले एकाएक चुनावको सरगर्मी बढेको छ । तेस्रो चरणमा सम्पन्न हुन लागेको २ नं. प्रदेशको १३६ स्थानीय तहका लागि असोज २ गते हुने निर्वाचनलाई लक्षित गरी सबै राजनीतिक पार्टीहरु यही प्रदेशका ८ वटा जिल्लामा केन्द्रित भएका छन् । साम, दाम, दण्ड, भेदको प्रयोग गरी मतदाताहरुलाई आफ्नो पक्षमा पार्न उनीहरु भएभरको शक्ति प्रयोग गरिरहेका छन् ।

कांग्रेस, एमाले, माके, राजपालगायतका शक्तिहरुले जनताबीचमा जान र प्रचार प्रसार गर्न एक हिसाबले साना पार्टीहरुलाई प्रतिबन्ध लगाएको र सिण्डिकेट लादिएको आरोप लगाएका छन् । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचरसंहिताको घोर उलंघन गर्दै उनीहरुले खसी, राँगा, सुंगुर, बाख्रा, कुखुरा, माछा काटेर भोज भत्तेर खुवाउने, धोती कुर्ता बाँड्ने, रक्सी खुवाउने, पैसा बाँढ्नेलगायतका कार्यहरु भइरहेको नेकपा (क्रान्तिकारी माओवादी)को राजनीतिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरुले जानकारी दिएका छन् ।

वर्तमान संविधान, सत्ता र व्यवस्थाको जनविरोधी चरित्रको भण्डाफोर गर्ने र पार्टी तथा मोर्चाको संगठन विस्तारका लागि जनआधार तयार पार्ने उद्देश्य राखेर स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको देजमोले यसभन्दा अगाडि भएका पहिलो र दोस्रो चरणको निर्वाचनमा भाग लिएको थियो ।

दलीय निर्वाचन चिन्ह नदिनु, स्वतन्त्रको हैसियतमा प्राप्त निर्वाचन चिन्हको प्रचार प्रसार मतदातासम्म पु¥याउन नसक्नु, खर्चको चरम अभाव हुनु, चौतर्फी रुपमा संसदवादीहरुको घेराबन्दी हुनु लगायतका प्रतिकूलताहरुलाई चिर्दै देजमोका उम्मेदवारहरुले उम्मेदवारी दिंदै आएका छन् ।

त्यसका लागि देजमोका उम्मेदवारलाई जनताले मतदान गर्न जरुरी छ । देजमोका उम्मेदवारहरुले पनि आफूहरुले संसदवादीहरुले जस्तो साम, दाम, दण्ड, भेदको प्रयोग गरेर जसरी पनि चुनाव जित्नेभन्दा पनि आफूसम्बद्ध पार्टी, मोर्चा र मुद्दालाई स्थापित गर्ने उद्देश्यलाई केन्द्रविन्दुमा राखेर उम्मेदवारी दिएको दावी गरेका छन् । उनीहरुले भनेका छन्, “जिते जनसेवा, हारे क्रान्तिको तयारी ।”