नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गावाट माओवादीको उमेदवार “केन्द्रमा बाबुराम, प्रदेशमा रामकुमार र मोहन”

विएन श्रेष्ठ, भदौ २८, ओखलढुङ्गा ।

माओवादी केन्द्र ओखलढुङ्गाले आगामी मंशिरमा हुने निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । माओवादी केन्द्र ओखलढुङ्गाको भदौ २५ र २६ गते बसेको बैठकले आफ्नो उम्मेदवारहरुको टुङ्गो लगाएको हो ।

आगामी मंशिर महिनामा हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम टुंगो लगाएको हो । मंगलबार आफ्नै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले उम्मेदवारको नाम घोषणा गरेको छ ।

पार्टीको बैठकले संघिय प्रतिनिधिसभाको लागि  पार्टीका जिल्ला इन्चार्ज तथा पोलिटब्यूरो सदस्य समेत रहेका बाबुराम गौतमको नाम सर्वसम्मत चयन गरेको छ । त्यसै गरी प्रादेशिक प्रतिनिधीसभाको निर्वाचन क्षेत्र नं। १ मा रामकुमार कार्की र क्षेत्र नं. २ मा मोहनकुमार खड्का “हिमशिखर”को नाम टुंगो लगाएको हो ।

चुनावभन्दा करिब तीन महिनाअघि नै उम्मेदवार टुंगो लगाएर सार्वजनिक गर्ने सम्भवत  देशकै पहिलो जिल्ला बनेको माओवादी केन्द्रले जनाएको छ । उम्मेदवारी घोषणा सगै चुनावको तयारीका लागि जिल्लाका सम्पूर्ण पार्टी संगठन सुदृढिकरण तथा केन्द्रित गरिने माओवादी केन्द्रले जनाएको छ । निर्वाचन आयोगले चुनावी कार्यतालिका सार्वजनिक गरेपछि भने त्यही अनुसार चुनावी अभियान सुरु गर्ने उम्मेदवारहरुले बताएका छन् ।

समानुपातिकतर्फ भने संघ र प्रदेशका लागि कुल १७ जनाको नाम सिफारिस गरिएको पार्टीका जिल्ला संयोजक मोहनकुमार खड्काले बताए । समानुपातिक तर्फका उम्मेदवारहरुको नाम अहिल्यै सार्वजनिक गर्दा पार्टीको हित विपरित हुने भन्दै समानुपातिक सदस्यहरुको नामावली भने सार्वजनिक गरेको छैन । यद्यपी पार्टी केन्द्रको असोज ९ र १० मा बस्ने केन्द्रिय समितिको बैठकपछि भने समानुपातिकका उम्मेदवारहरुको नामावली सार्वजनिक गर्ने माओवादी केन्द्र ओखलढुङ्गाले जनाएको छ ।