नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

“उजुरीको प्रतिक्षामा छु, उजुरी आए तुरुन्तै कार्वाही गर्छु,” न्यायधिश बम

 

ओखलढुङ्गान्युज डटकम, भदौ २६, ओखलढुङ्गा

सबैका लागि घरघरघरमा मानव अधिकार, शान्ति र विकासको आधार भन्ने मुल नाराका साथ ओखलढुङ्गा जिल्लाको मानव अधिकार प्राथमिकीकरणका लागि सरोकारवाला निकायसग आइृतवार अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सरोकारवालाहरुले मानबअधिकारको क्षेत्रमा सबै निकाय सम्बेदनशिल हुनुपर्नेमा जोड दिएका छन् ।

अन्तरसम्वादमा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएका उच्च अदालत विराटनगरका बरिष्ठतम न्यायधिश राजकुमार बमले मानब अधिकारको संरक्षक अदालत भएको बताउनुभयो । “मानवअधिकारको संरक्षक अदालत नै हो । मानवअधिकारको संरक्षक भएर पनि ओखलढुङ्गामा रहदा मानबअधिकार हननलाई टुलुटुलु हेरेर बस्नु परेको छ । यदी कोही नागरिकले जिल्लामा भैरहेका यी मानबअधिकार हननका विषयमा उजुरी दर्ता गरेमा म चुप लागेर बस्दिन । उजुरीको प्रतिक्षा गरिरहेको छु ।” बरिष्ठतम न्यायधिश बमले थप्नुभयो, “उजुरी आयोभने संरक्षकको हैसियतले त्यस विषयमा तुरुन्तै आवश्यक कार्वाहिको प्रकृया सुरुवात गर्छु । मुद्दामामिलामा चाडो फैसला पाउनुपनि मानवअधिकार हो ।” जिल्लामा रहेका श्रोत सामाग्रीलाई परिचालन गरि नागरिकलाइृ मानवअधिकार प्रत्यायोजन हुनसक्ने कामहरुमा तदारुकता देखाइ काम गर्न सकृयताका साथ लागिपर्न समेत उहाँले सबैलाई आग्रह गर्नुभयो ।

अन्तरसम्वादमा आफ्ना कुरा राख्दै सिद्धिचरण नगरपालिकाका नगर उपप्रमुख ईच्छा कुमारी गुरुङ्गले नगरपालिकामा स्थानीय तहकको निर्वाचन लामो समय पछि भएको र जनप्रतिनिधीमा निर्वाचित भै आफुले कार्यकक्ष सम्हालेको लामो समय नभएकोले सबै कुरा थाहा नभएको बताउनुभयो । आगामी दिनहरुमा नागरिकको मानवअधिकारलाई मध्य नजर गर्दै अगाडी बढ्न नगरपालिकाले आवश्यक कार्यक्रम तय गरेर सञ्चालन गर्ने पनि प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

त्यस्ते अन्तर सम्वादमा आफ्नो विचार राख्दै प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले गर्न नसक्ने कुराहरुको प्रतिबद्धता नगर्न र गर्न सक्ने कुराहरुको मात्रै प्रतिबद्धता ब्यक्त गर्न सहभागीहरु सबैलाई आग्रह गर्नुभयो । “अहिले राजनितीक समाचार र तिनै सग सम्बन्धित मानव अधिकार हनन्का कुराको समाचार मात्र मुख्य समाचार भैरहेका छन् । सामान्य नागरिकको मानव अधिकार हनन्का कुरा मिडियामा समेत ओझेलमा परेका छन् । त्यो पनि मिडियामा प्राथमिकतामा पर्नुपर्यो ।” प्रजिअ पन्तले थप्नुभयो, “हाम्रो प्रबृत्तीलाई परिवर्तन नगरेसम्म मानव अधिकारको कुरा कुरामा मात्रै सिमित हुन्छ । मानवअधिकारको कुरालाई व्यबहारमा उतार्न हाम्रो प्रबृत्तिलाई नै परिवर्तन गर्नु पर्छ । ओखलढुङ्गामा जिल्ला प्रशासन कार्यालयवाट नागरिकको अधिकार अर्थात मानव अधिकारको पक्षमा केही मात्रामा भनेपनि सुरुवातीको प्रयास गरिएको छ । पूर्ण त नहोला तर सुरुवाती गरेपछि केही चाही हुन्छ नै,” प्रजिअ पन्तले भन्नुभयोे ।

अन्तर सम्वादमा सञ्चारक्षेत्रका, सञ्चारकर्मी र मानव अधिकारको अवस्थाको बारेमा नेपाल पत्रकार महासंघ ओअलढुङ्गाका कार्यवाहक अध्यक्ष एवम् ईन्सेक ओखलढुङ्गा जिल्ला प्रतिनिधी शिव ढुङ्गाना र ओखलढुङ्गा जिल्लाको समग्र मानव अधिकारको विषयमा सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञवालीले प्रस्तुती राख्नु भएको थियो । राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रिय कार्यालय खोटाङको आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।