नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

कुखुराका २ सय ८० चल्ला नष्ट

ओखलढुङ्गान्युज डटकम, भदौ २४ ओखलढुंगा ।
शुक्रबार ओखलढुङ्गामा २ सय ८० वटा गिरीराज प्रजाती कुखुराको चल्ला प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ । अवैध रुपमा राजधानीबाट सोलुखुम्बु तर्फ लादै गरेको कुखुराको उक्त चल्लालाई नियन्त्रणमा लिई नष्ट गरिएको हो ।

बिहान गोरुमारे प्रहरी बिटले पक्राउ गरेको गिरिराज जातको उक्त चल्ला जिल्ला पशु सेवा कार्यालयका प्राविधिकहरुको रोहबरमा नष्ट गरिएको हो । क्वारेन्टाइन परिक्षण बिना र खरिद गरेको बिल समेत नरहेको चल्ला बा १५ च ८५९७ नम्बरको पिकअप भ्यानमा सोलुखुम्बुको केरुङका लागि थियो ।

                                                          नियन्त्ररणमा लिइएकाे कुखुरा र चल्ला बाेकेकाे गाडी

नविन किशोर मगर नाम गरेका व्यापारीले ल्याएको उक्त चल्लामध्ये १६ वटा बाटैमा मरिसकेको, अन्यको समेत क्वारेन्टाइन परिक्षण र खरिद गरेको बिल समेत नरहेकोले अवैध ठहर गरि नष्ट गरिएको जिल्ला प्रहरीका डिएसपी अर्जुन तिमिल्सिनाले बताउनुभयो ।

“चल्लामा कुनै रोग रहन सक्ने सम्भावना हुन्छ । व्यापारीले कती चल्ला खरिद गरेर कहाँवाट ल्याएको केही उल्लेख छैन । चल्ला खरिद गरेको विल पनि छैन । क्वारेन्टाईन परीक्षण पनि गरेको छैन । यो चल्ला जिल्लामा अवैध रुपमा भित्रिएको छ । त्यसैले कानुन बमोजिम मुचुल्का उठाई नष्ट गरिएको हो,” डिएसपी तिमिल्सिनाले बताउनुभयो । जम्मा ६५ हजार मूल्य बराबरको २ सय ८० चल्ला नष्ट गरिएको हो ।

त्यस्तै मासुकालागि भनेर रामपुर र रुम्जाटारका लागि ल्याईएको झण्डै ७ सय कुखुरा ल्याईएको गाडीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । ईकोनोमिक पोल्ट्रीफर्मवाट ल्याईको ६ सय ६० कुखुरा बोकेर आएको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कुखुराको क्वारेण्टाईन परिक्षण पनि गराएको सिफारिस पनि नभएको र सादा विलमा लाखौको कारोवार गरेको पाईएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

                                                                     कुखुरा खरिदमा प्रयाेग गरिएकाे सादा विल

पोल्ट्रीफर्मले करछली गरेको र कर नबुझाएको प्रती आन्तरिक राजश्व कार्यालय लाहानले आफैले कार्बाही गर्ने बताएपछि र कुखुराको क्वारेण्टाईन परिक्षणका लागि जिल्ला पशुसेवा कार्यालयका प्रतिनिधीको रोहवरमा उक्त कुखुरा बोकेको गाडि बा ३ च ९९७९ र बा १२ च ६८९८ लाई छाडेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।