नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

कालाबजारी र भ्रष्टाचारीहरुलाई क्रान्तिकारी माओवादीले कार्बाही गर्ने

ओखलढुङ्गान्युज डटकम, भदौ  २२ ओखलढुङ्गा

नजिक आउदै गरेको चाडवाड सगै जिल्लामा कालाबजारी र महंगी भित्रिएको भन्दै तिनीहरुलाई जिल्ला प्रशासनले कार्बाही नगरेमा क्रान्तिकारी माओवादीले कार्बाही गर्ने बताएको छ । नेकपा क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा ओखलढुङ्गाको केही दिन अगाडी सम्पन्न भएको संयुक्त बैठकको निर्णयहरु सार्वजनिक गर्न आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी गराईको हो ।

नेपालीहरुको महान् चाड विजया दशमी तथा दिपावली भित्रीदै गर्दा यातायातका साधनहरुमा मनपरी भाडालिने गरेको गुनासाहरु आउन थालेका छन् । त्यस्तै चाडवाड सुरुहुदै गर्दा जिल्ला भित्र महंगी, कालाबजारी, खाद्यवस्तुमा अखाद्य वस्तुको मिसावट र भ्रष्टाचार बृद्धि भएको भन्दै त्यसलाई नियन्त्रणका जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउने क्रान्तिकारी माओवादीले वताएको छ । यदी प्रशासनले नियन्त्रणका लागि आवश्यक पहलकदम नचालेमा आफ्नो पार्टी नेकपा क्रान्तिकारी माओवादीले आवश्यक ठोस निर्णय गरी आफै कार्वाही गर्ने बताएको छ ।

आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्रान्तिकारी माओवादीले ओखलढुङ्गाको नयाँ संघिय संरचना अनुसारको पार्टी संरचना समेत निर्माण गरेको जनाएको छ । आगामी असोजमा हुने क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलनलाई सफल बनाउन लागी पर्ने लगायतका निर्णयहरु गरेको पनि पत्रकार भेटघाटमा जानकारी गराईएको छ ।

क्रान्तिकारी माओवादीका पार्टी सचिवालय सदस्य तथा प्रदेश नं. १ का संयोजक अग्नीज्वाला र देशभक्त जनगणतान्त्रिक मोर्चा प्रदेश नं. १ का संयोजक नगेन्द्र राईको उपस्थितीमा संयुक्त बैठक बसेको क्रान्तिकारी माओवादी ओखलढुङ्गाले जनाएको छ ।