नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

सिद्धिचरण हाइवे सडक मै अखाद्य वस्तु खुलेआम विक्रिवितरण, प्रशासनद्वारा नष्ट

ओखलढुङ्गान्युज डटकम, भदौ २२ ओखलढुंगा ।
सिद्धिचरण राजमार्ग अन्तर्गत हर्कपुर ओखलढुंगा सडक खण्डमा संचालित पसलहरुबाट खुलेआम अखाद्य वस्तु विक्रि वितरण भइरहेको पाइएको छ । राजमार्ग छेउमा व्यापारीहरुले म्याद गुज्रीएकाे अखाद्य वस्तु उपभोक्तालाई बेचेको पाइएको हो । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा अखाद्य वस्तु अत्याधिक मात्रामा भेटिएको छ ।

                                                 अनुगमनका क्रममा भेटिएका म्याद गुज्रीएकाे पेय पदार्थ

ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञवालीको नेतृत्वमा अनुगमन टोलीले मानेभञ्ज्याङ्ग बजारमा अनुगमन गर्दा भेटिएका अखाद्य वस्तु नष्ट गरेको छ । ‘ढुवानीका लागि सहज भएको क्षेत्रमै अत्याधिक पाइयो, पसल दर्ता गर्न, कर तिर्न र अखाद्य वस्तु नबेच्न लिखित निर्देशन दिइएको छ, उलंघन गरे कारवाही हुन्छ’ सहायक प्रमुख जिल्ला अधिकारी ज्ञवालीले भने । अनुगमनमा भेटिएका अखाद्य वस्तु तथा पेय पदार्थ व्यापारीको रोहबर र प्रहरीको सहयोगमा नष्ट गरिएको छ ।

मानेभञ्ज्याङ्ग क्षेत्रमा संचालित होटल तथा पसलहरु अधिकांश दर्ता नभएका, अखाद्य वस्तु विक्रि वितरण गर्ने र होलसेल पसलमा म्याद गुज्रिएका सामग्री भेटिएका थिए । सदरमुकाम क्षेत्रमा अनुगमन भए पनि अन्य क्षेत्रमा अनुगमन टोली नपुगेको गुनासो आएपछि राजमार्ग तथा गाउँका पसल तथा होटलहरु अनुगमन गर्न थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अब अनुगमन सबै क्षेत्रमा हुने सहायक प्रजिअ ज्ञावलीले बताए ।

व्यापारीहरुले मदिरा र खाद्य वस्तु सँगै बेचेको, पसलको बोर्ड नराखेको, विल काटेर कारोबार नगरेको र म्याद गुज्रेका सामग्री बेचेको पाइएमा कालो बजारी ऐन अनुसार कारवाही गर्ने तयारी गरिएको पनि ज्ञवालीको भनाइ छ । राजमार्ग क्षेत्रका बजार हर्कपुर, जयरामघाट, हिलेपानी, लगायतका क्षेत्रमा पनि व्यापारीहरुले नियम विपरित व्यापार गर्दै आएको गुनासो आएको छ ।

आक्कल झुक्कल गरिने अनुगमनले व्यापारीहरुलाई खासै असर नगर्ने भन्दै अनुगमनलाई औपचारिकतामा मात्रै नराखी निरन्तरता दिन स्थानीय उपभोक्ताहरुले माग गरेका छन् । नेपालीहरुको महान् चाड वडादशै तथा दिपावली नजिकीए सगै जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जिल्लाका विभिन्न स्थानको बजार अनुगमनको क्रमलाई तिब्रता दिएको छ ।