नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

उत्तरकोरीयाले गर्यो शक्तिशाली हाईड्रोजन बमको सफल परिक्षण

भदौ २०, उत्तरकोरीया

आईतवार उत्तरकोरीयाले आफ्नो शक्तिशाली हाईड्रोजन बमको सफल परीक्षण गरेको छ । राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको निरन्तर आग्रहलाई बेवास्ता गर्दै उत्तर कोरियाले आइतबार शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेको छ । उत्तरपूर्वी किल्जु काउन्टी क्षेत्रको पुङ्गे–री आणविक केन्द्रमा बम परीक्षण गरिएको जनाईएको छ ।

हालसम्मकै शक्तिशाली मानिएको हाइड्रोजन बम परीक्षणपछि कोरियाली प्रायद्वीपमा ६.३ रेक्टर स्केलको कम्पन महसुस गरिएको थियो । उत्तर कोरियाको यो परीक्षणले विश्वभर ‘त्रास’ सिर्जना गरेको भन्दै भत्र्सना भएको छ ।

उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रमा जडान गरी प्रहार गर्न सकिने अत्याधुनिक हाइड्रोजन बमको विकास भएको दाबी गरेको छ । सरकारी टेलिभिजनले परीक्षण ‘पूर्ण रूपमा सफल’ भएको जनाएको छ । यो परीक्षण गरिएको बम विश्वयुद्धका समयमा अमेरीकाले जापानमा खसाएको बम भन्दा धेरैगुणा शक्तिशाली रहेको बताईएको छ ।

साथै उसले क्षेप्यास्त्रमा हाइड्रोजन बम जडान गरी परीक्षण गर्दा कम्पन भएको जनाएको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएले परीक्षणका क्रममा कुनै पनि विकिरण चुहावट नभएकाले वातावरणमा असर नपरेको दाबी गरेको छ ।

उक्त संस्थाले आइतबार बिहान किम जोङ–उनले हाइड्रोजन बमको निरीक्षण गरेको भन्दै तस्बिरहरू सार्वजनिक गरेको थियो । दक्षिण कोरियाली विज्ञहरूले उक्त बम यसअघिका भन्दा करिब दस गुणा शक्तिशाली रहेको उल्लेख गर्दै हाइड्रोजन बम नै परीक्षण गरिएको दाबी गरेका छन् ।

गतसाता उत्तरले प्रहार गरेको क्षेप्यास्त्र जापानको हकाइडो प्रान्तको आकाश हुँदै समुद्रमा खसेको थियो । राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय समुदायले आणविक परीक्षण नगर्न उत्तर कोरियालाई निरन्तर आग्रह गर्दै आइरहेका छन् ।