नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

क्रान्तिकारीको २१ औं अधिबेशनवाट अध्यक्षमा रञ्जित तामाङ विजयी

ओखलढुङ्गान्युज डटकम, भदौ १८, काठमाडौं ।

अखिल क्रान्तिकारीको काठमाण्डौमा सम्पन्न २१औं एकताको राष्ट्रिय अधिबेशनवाट रञ्जित तामाङ निर्वाचित भएका छन् । पहिलोपटक निर्वाचन प्रणालीबाट संगठनको नेतृत्व छनोट गरेको  नेकपा माओवादी केन्द्रको भातृ विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा तामाङ निर्वाचित भएका हुन् । तामाङले आफूलाई अब्बल सावित गरेको भन्दै प्रत्यासी अनिल शर्माले बधाई दिएका छन् ।

निर्वाचन प्रणालीबाट नेतृत्व छनोटलाई नयाँ प्रक्रियाको सुरुवात भएको नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले बताएका छन् । उनले निर्वाचनबाट आएको केन्द्रीय समितिले संगठनलाई विधिमा लैजाने पनि उनले बताए । नवनिर्वाचित अध्यक्ष तामाङले संगठनमा पुस्तान्तरण भएको बताउदै संगठनलाई चुस्त दुरुस्त बनाएर लैजाने प्रतिवद्धता पनि जनाएका छन् ।  

अध्यक्षमा २३ मतले पराजित भएका अनिलकुमार शर्माले सम्मेलनले इतिहास रचेको बताए । उनले भने, खुला दिलले हाम्रा कार्यकर्ता साथीहरुलाई आफ्नो नेतृत्व चयन गर्ने अधिकार सुनिश्चित गरेका छौं । अध्यक्षमा भएको पराजयसँगै शर्माले विद्यार्थी राजनीतिबाट विदाइ लिएको घोषणा गरेका छन् । उनले निर्वाचनबाट विदाइ हुन पाएकोमा सन्तुष्ट रहेको बताए । विगतका साथीहरु कसैले थोपरेको निर्णय मानेर मन अमिलो पारेर विदाइ हुनुपर्थ्यो, अहिले मलाई चित्त बुझेको छ उनले भने ।

भदौ ७ देखि ११ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा रहेको स्मृति भवनमा भएको २१ औं राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै सकिएको छ । एकताको राष्ट्रिय सम्मेलन नारा दिइएको सम्मेलनले ३३ पदाधिकारीसहित २ सय ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । शनिबार बिहान सम्पन्न मतगणनामा तामाङले ८ सय ४५ र उनका प्रतिस्पर्धी अनिलकुमार शर्माले ८ सय २२ प्राप्त गरेका थिए ।

पदाधिकारीको खुला उपाध्यक्षमा तिलकराज भण्डारी ६ सय ५७, सुरेन्द्र बस्नेत ७ सय १२, दीपक देवकोटा ६ सय ६२ र विजय गौतमले ५ सय ९२ मत ल्याए । समावेशी उपाध्यक्ष अन्तर्गत छात्रामा पञ्चा सिंह १ हजार ५८, मधेसीमा रविकिरण यादव ५ सय २२, जनजातिमा दिपेशकुमार पुन ९ सय २१, दलितमा इन्द्रकुमार भुसाल ८ सय १७ मत ल्याएर विजयी भए ।

त्यस्तै महासचिवमा उत्तमकुमार अधिकारीले ५ सय ६९ मत ल्याए भने उपमहासचिवमा तुकमान महरा ३ सय ९३, जीपी मैनाली ७ सय २७, मिलन महतारा क्षेत्री ३ सय ४१ मत ल्याएर निर्वाचित भए ।

खुला सचिवमा नरेश रेग्मी ३ र ८९ डीबी साउद ३ सय २३ मत ल्याएर विजयी भए। छात्रा सचिवमा प्रविणा अधिकारी ३ सय २७, गंगा दाहाल ४ सय ७९, मधेसी सचिवमा गजेन्द्रप्रसाद देव ५ सय ८०, जनजाति सचिवमा रामकुमार याक्सो लिम्बू २ सय ४६, मुस्लिम सचिवमा कल्पना मियाँ ७ सय ६५ र दलित सचिवमा मदन भुलले ४ सय ३० मत ल्याएर विजयी भए । ३३ सदस्यीय पदाधिकारीमा एकजना उपाध्यक्ष र एकजना उपमहासचिव मनोनित गर्ने व्यवस्था छ ।

प्रदेश अनुसारका सचिवमा प्रदेश नम्बर १ मा मदनकुमार भट्टराई ४ सय ४०, प्रदेश २ मा सूर्यनारायण शाह ४ सय ४, प्रदेश ३ मा पवन कार्की ४ सय १५, प्रदेश ४ मा क्षितिज सापकोटा ७ सय २४, प्रदेश ५ मा नारायण खनाल ३ सय ५९, प्रदेश ६ मा अम्मराज शाही ५ सय ५८ र प्रदेश नम्बर ७ मा दिनेशप्रसाद भट्ट ७ सय ४५ मत ल्याएर विजयी भएका थिए। विश्वविद्यालय तर्फको सचिवमा डा। अच्युत भट्ट ६ सय ५४ मत ल्याएर विजयी भएका छन् ।

कोषाध्यक्षमा केशव रावल ५ सय ४४ मत ल्याएर विजयी भए । निर्वाचन समितिका संयोजक रमेश मल्लले उपमहासचिव सहित ९८ जना भने निर्विरोध निर्वाचित भएको जानकारी दिए । अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि बुधबार निर्वाचन भएको थियो । मतगणना बिहीबारदेखि भएको थियो । २ हजार २२ मतदातामध्ये निर्वाचनमा १ हजार ७ सय ४ जनाले मात्रै मतदानमा सभागीता जनाएका थिए ।