नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

आज कुशे औंसी, बाबुको मुख हेर्ने दिन, मोतीजयन्ती पनि मनाईँदै

ओखलढुङ्गान्युज डटकम, ओखलढुङ्गा भदौ ५ .
आज भाद्र कृष्णपक्षको कुशे औँसी अर्थात बाबुको मुख हेर्ने दिन पितालाई विशेष सम्मान गरी मनाइँदैछ । यस वर्षको भाद्र कृष्ण औँसी सोमबार परेकाले बिहान उठेर नबोलिकन स्नान गरेमा एक हजार गाई दान गरेबराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रीमा वर्णन गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका विभाग प्रमुख प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो ।

आजै नेपाली परम्परा अनुसार ब्राम्हणहरुले कुश लिएर आफ्ना जजमानहरुको घरघरमा मूलढोकाको माथितिर सिउरीदिने प्रचलन पनि छ । कुशलाई विभिन्न घरेलु औषधीको रुपमा पनि प्रयोग गरिन्छ । कुशे औँशीका दिन उखेलिएको वा काटिएका कुश १२ वर्षसम्म प्रयोग गर्न मिल्ने कथन लोक व्यवहारमा चल्दै आएको उहाँले बताउनुभयो ।

यसैगरी आजका दिन दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित पिताप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ । मृत पिताका नाममा काठमाडौं उपत्यकाको उत्तर–पूर्वी भेगमा रहेको गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो ।

आज गोकर्णेश्वर र बेत्रावतीलगायत ठाउँमा मेला लाग्छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । यस्तै आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५० औँ जन्मजयन्ती, विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विसं १९२३ साल भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन जन्मेका भट्टको विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनु भएको थियो । भानुजयन्तीको अबसरमा देशैभर विभिन्न साहित्यीक कार्यक्रमहरु पनि सञ्चालन गरिदै छ ।