नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको संख्या उत्साहजनक

उत्साहजनक भएपनि अपेक्षाकृत दर्ता अझै भएन

वि. एन. श्रेष्ठ, ओखलढुङ्गा, साउन २४ ।
ओखलढुङ्गामा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको संख्या उत्साहजनक देखिएको छ । जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले शोमवार दिएको पछिल्लो तथ्यांक अनुसार ४ हजार २ सय २३ जनाले आफ्नो नाम फोटोसहितको मतदाता नामवलीमा दर्ता गराएका छन् ।

नेपालको जनसंख्या पुरुषको तुलनामा महिलाको नै वढि भए झै ओखलढुङ्गामा पनि महिलाको संख्या नै वढि छ । तर यसपटक फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्नेहरुमा महिलाको संख्या भन्दा पुरुषको संख्या बढी देखिएको छ । नाम दर्ता गर्नेहरुमा महिलाको संख्या भन्दा झण्डै ४ सयले बढि अर्थात २ हजार ३ सय १४ जना पुरुषहरु रहेका छन् । त्यस्तै पुरुषको संख्या भन्दा कम अर्थात १ हजार ९ सय ९ जना महिलाले फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाका कम्प्युटर अपरेटर भगवान दासले जानकारी दिए ।

फोटो सहितको मतदाता नामवलीमा नाम दर्ता संख्या सबभन्दा बढि जिल्ला निर्वाचन कार्यालयमा भएको छ । उसको तथ्यांक अनुसार शोमवार सम्ममा जिल्ला निर्वाचन कार्यालयमा ३ हजार १ सय ४ जनाले नाम दर्ता गराएका छन् । त्यस्तै मानेभञ्याङ्ग गाउपालिकामा २ सय ९२, मोलुङ गाँउपालिकामा १ सय ९३, सुनकोसी गाँउपालिकामा १ सय ४१, चम्पादेवी गाँउपालिकामा १ सय ६९ जनाले फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । त्यस्तै, खिजिदेम्वा गाँउपालिकामा १ सय ६६, लिखु गाँउपालिकामा १ सय ६६ र चिशंखुगढी गाँउपालिकामा जम्मा ६६ जनाले मात्रै फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।

फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनेको संख्या उत्साहजनक देखिएपनि अपेक्षाकृत रुपमा नामदर्ताका लागि अझै मतदाताहरु नआएको जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाका प्रमुख अर्जुन राईले वताए । अझै फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनका लागि अझै समय बाकी रहेकोले अपेक्षा गरेअनुसार मतदाताहरुले नामदर्तामा सहभागी हुने उनले वताए । छुटेका मतदाताहरुले समयमा नै आफ्नो नाम दर्ता गराई मतदान गर्ने अधिकारवाट बञ्चित नहुन पनि प्रमुख राईले आग्रह गरे ।

जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाको तथ्यांक अनुसार गत असार १४, २०७४मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ओखलढुङ्गामा जम्मा मतदाताको संख्या ९१ हजार ५ सय ८ मात्रै थियो । जिल्लाका करिब १५ हजार मतदाताहरु बैदेशिक रोजगार लगायत विविध कारणले अघिल्लो फोटो सहितको मतदाता नामावली संकलनमा आफ्नो नाम दर्ता गराउन छुटेको आशंका गरिएको छ । त्यस्तै यसपटक सञ्चालन गरिएको नामदर्ता कार्यक्रममा १० हजार भन्दा बढि मतदाताहरु थपिने अनुमान गरिएको छ ।

निर्वाचन आयोगले प्रदेश र विधानसभालाई लक्षित गर्दै साउन १ देखी १५ सम्म सम्बन्धित जिल्लामा नै फोटो सहितको मतदाता नामावली संकलनको कार्यक्रम सुरुगरेपनि राजनितिक दल र विभिन्न पक्षहरुको अनुरोधका कारण साउन १५ देखी मशान्त सम्म जिल्लाका आठओटै गाँउपालिका मार्फत फोटो सहितको मतदाता नामावली संकलन कार्र्य भैरहेको छ ।