नेपाली समय Loading...२०८३ बैशाख २४ बिहीबार

लेखिने हैन देखिने काम गर्छु “मेयर श्रेष्ठ”

विएन श्रेष्ठ, ओखलढुङ्गा असार २३ ।
सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले अबका दिनमा लेखिने हैन देखिने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । सिद्धिचरण नगरपालिकाले आयोजना गरेको स्वागत तथा पदभार ग्रहण कार्यक्रममा मेयर श्रेष्ठले यस्तो बताउनु भएको हो । निर्वाचित भएपछि आज पहिलो पटक मेयर तथा उपमेयरले आफ्नो पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण पछि सम्बोधन गर्दै मेयर श्रेष्ठले एकवर्षभित्र सिनपाको लगलगे डाँडामा भ्यूटावर निर्माण सम्पन्न गरिसक्ने पनि बताउनु भएको छ । “मेरो पहिलो काम स्वरुप ओखलढुङ्गाको लगलगेमा ओखलढुङ्गा क्षेत्र नं. १ का सांसद यज्ञराज सुनुवारलाई साक्षि राखेर २१ गते बुधवार टावरको सिलान्यास गरेको छु । त्यो आजका मितिले एकवर्ष भित्र सम्पन्न गर्ने छु ।” श्रेष्ठले थप्नुभयो, “भ्यू टावर एकवर्षभित्र सम्पन्न गर्ने सगै सिद्धिचरण नगरपालिकालाई सगरमाथा पदमार्गको रुपमा पनि विकास गरिनेछ । जसले ओखलढुङ्गाका नागरिकहरुको आर्थिक स्तरलाई मजबुद पार्न सहयोग पुग्नेछ ।”

सम्बोधनको क्रममा मेयर श्रेष्ठले भन्नुभयो, “नगरवासीको सक्रिय सहभागीता विना कुनै पनि काम सम्पन्न गर्न सकिन्न । जनप्रतिनिधिहरु अर्को ग्रहवाट आएका भगवान पनि हैनन् । आफुहरु निश्चित अबधिका लागी जनप्रतिनिधी चुनिएकोले नगरपालिकाको विकासका लागि नगरवासी, कर्मचारी सबैवाट उचित सहयोगको अपेक्षा गर्दछु ।”

केही राजनितिक दलका व्यक्तिहरुले प्रशासनको आडमा गलत कृयाकलाप गर्ने दुस्प्रयास गरेको मेयर श्रेष्ठको आरोप छ । प्रयास गरेपनि उनीहरु सफल नभएको भन्दै आगामी दिनमा फेरी पनि त्यस्ता व्यबहार देखिए आफुहरु चुप लागेर नबस्ने पनि मेयर श्रेष्ठले सम्बोधनका चेतावनी दिए ।

भ्यूटावर निर्माण सम्पन्न पश्चात ओखलढुङ्गामा आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमन हुने जसले नगरवासीहरुको आर्थिक विकासमा थप टेवा पुग्ने मेयर श्रेष्ठको विश्वास छ । ओखलढुङ्गा युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो पनि भएकोले सिद्धिचरण पार्कको भौतिक पूर्वाधारलाई विकास गरी आन्तरिक तथा वाह्य पर्यटनलाई विकास गर्ने प्रतिबद्धता पनि उहाँले ब्यक्त गर्नुभयो ।

स्वागत तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर ईच्छा कुमारी गुरुङले आफ्नो कार्यकालमा आफुले कुनै गलत कार्य गर्ने धृष्टता र घमण्ड नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “म मेरो कार्यकाल भरी आफ्नो जिम्मेवारीलाई कुशलता पूर्वक सम्पन्न गर्नेछु । कुनै काममा गलत गर्ने धृष्टता र घमण्ड म वाट हुने छैन ।” उपमेयर गुरुङले थप्नुभयो, “यदि नजानेर कुनै गल्ती कमीकमजोरी भएमा व्यक्तिगत रुपमा नै सुझाव तथा सल्लाहको अपेक्षा गर्छु । यहाँहरुको सुझाव सल्लाह अनुसार नै आफ्नो कामलाई अगाडी वढाउछु ।”

स्वागत तथा पदभार ग्रहण कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेपनि जिल्ला प्रशासन कार्यालयका कुनै कर्मचारीहरुले उपस्थिती जनाएनन् । सिद्धिचरण नगरपालिकाका कार्यकारी अधिकृत रोशनी देवी कार्की र मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले मेयर तथा उपमेयरलाई स्वागत गरेका थिए ।