नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

ओखलढुङ्गाको ७८ मतदान स्थलका लागी सात सय ६२ कर्मचारी

ओखलढुङ्गा, असार १२ ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि दुईदिन मात्रै बाकी रहदा ओखलढुंगाका सबै मतदान केन्द्रमा निर्वाचन कर्मचारी पुगिसकेको जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

जिल्लामा रहेका ७८ मतदान स्थलका एक सय २७ मतदान केन्द्रमै मतदान अधिकृतसहितको टोली पुगेर काम थालेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि ओखलढुङ्गामा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी गरी ७ सय ६२ जना कर्मचारी खटिएका छन् ।

आइतबारदेखि सबै निर्वाचन केन्द्रबाट मतदाता परिचयपत्र वितरणको काम भइरहेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताउनुभयो । मतदाता नामावलीमा नाम भएका ९१ हजार ५०८ मतदातामध्ये सुरुको दिनमै उल्लेख्य संख्यामा मतदाताले परिचयपत्र लिएको पनि उहाँले बताउनुभयो । मतदाता परिचयपत्र वितरणको काम असार १३ गतेसम्म रहनेछ ।

मतदान अधिकृतको टोलीसँगै सुरक्षाको टोली समेत सम्बन्धित स्थलहरुमा पुगिसकेको छ । मतदान स्थलको सुरक्षालाई केन्द्रित गरेर सबै मतदान केन्द्रमा म्यादी तथा नेपाल प्रहरी, ८ वटा स्थानीय तहका केन्द्र समेट्ने गरेर नेपाली सेना र दुई दर्जन केन्द्रमा सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले जानकारी दिनुभयो ।

मतदानको दिन नजिकिदै गर्दा जिल्लाभित्रका सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्थालाई कडाई गरिएको छ । दाहालको भनाइ छ । प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार प्रत्येक स्थानीय तहमा भरपर्दो सुरक्षाका लागि नेपाल प्रहरीका एक एक जना इन्सपेक्टरसहितको टोली खटिएका छन् । जिल्लाका अति संवेदनशील क्षेत्रमा थप सुरक्षाकर्मीको व्यवस्था गरेर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो।