नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

चितवनको काली खोलामा सुख्खा पहिरो, चार प्रहरी सम्पर्क विहिन

 चितवन, असार ९,  चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित कालिकाखोलामा गएराति एउटा ट्रक र प्रहरीको भ्यान सुख्खा पहिरोसँगै त्रिशुली नदीमा खसेको छ । राति करिब १ बजे कालिखोलामा खसेको पहिरोले बगाएर प्रहरीको भ्यान र ट्रक त्रिशुलीमा पुर्‍याएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए।

उनका अनुसार इलाका प्रहरी कार्यालय मुग्लिनको प्रहरी सहायक निरीक्षक निश्चल तामाङसहित प्रहरी जवान दिपक मास्के, सन्दीप कार्की र लिलबहादुर चेपाङ सम्पर्कविहीन छन् । अहिले घटनास्थलमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाट भट्ट, प्रहरी प्रमुख थापा सहितको उद्धार टोली खटिएको छ ।

 नेपाली सेना, जनपद प्रहरी र कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद उद्धार टोलीसमेत घटनास्थलमा पुगेर उद्धार थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठूलो पहिरो खसेकाले बाटो अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन कठिनाइ भएको प्रमुख जिल्ला अघिकारी भट्टले जानकारी दिए।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालले राति गस्तीमा रहेको ४ जनाको प्रहरी टोली पहिरोमा परेर सम्पर्कविहीन भएको जानकारी दिए । मुग्लिन प्रहरीका अनुसार राति ९ बजे पनि उक्त सडकमा पहिरो गएको थियो र सो पहिरो पन्छाएर प्रहरी टोली सडक गस्तीमै रहेको थियो । त्यही क्रममा राति ठूलो पहिरो गएको हो । यसअघि गत सातामा पनि सोही ठाउँमा दुईवटा पहिरो खसेको थियो । यो क्षेत्र मुग्लिनबाट तीन किलोमिटर नारायणगढतर्फ पर्छ ।